Top Headlines:

साउन ९ देखि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

प्रा.डा.गोविन्द केसीले आफ्नो दुईसूत्रीय माग पूरा नभए साउन ९ अपराहन ४ बजेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी छन् । चिकित्सा शिक्षा र सेवा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ सम्मको अल्टिमेटम दिएका केसीले उक्त अवधिमा पनि माग पूरा नभएको भन्दै आफू फेरि सत्याग्रह गर्न बाध्य भएको बताए ।

उनले पछिल्लोपटक माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न सरकार र सम्बद्घ निकायलाई तत्काल ६ वटा काम गर्नुपर्ने दुईसूत्रीय माग अघि सारेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डिनको सिफारिसअनुसार तत्काल सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नसमेत उनले माग गरेका छन् ।
आफूसित भएको सम्झौताअनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट पुन आईओएममा फिर्ता गर्नुपर्ने मागसमेत उनको छ ।