Top Headlines:

डोल्मा बेखर्ची, डोल्माका नाममा उठेको लाखौं रुपैयाँ कहाँ छ ?

कुवेतमा १० वर्ष आजीवन कारावास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसिरहेकी छन् । तर उनको नाममा उठाइएको लाखौं रकम कहाँ छ, कसैलाई थाहा छैन ।
फिलपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुनअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्माको सजाय ‘ब्लडमनी’ बुझाएर आजीवन कारावासमा झारिएको थियो । दस वर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि राजधानी फर्किएकी हुन् ।
डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाइएपछि ‘डोल्मा शेर्पा बचाऊ अभियान’ भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियानमा ५० लाख रुपैयाँभन्दा बढी सहयोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । अहिले त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौं रुपैयाँको खोजबिन अझै हुन सकेको छैन । ‘डोल्माले कुवेतको जेलबाट छुटकारा पाउने भएपछि हामीले पनि उनका नाममा गैरआवासीय नेपाली संघबाट उठेको रकमको खोजबिन गर्‍यौं,’ गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष हिक्मत थापाले नाइजेरियाको लेगोसबाट भने, ‘उनका नाममा उठेको झन्डै ३२ लाख रुपैयाँ अहिले पनि संघको कल्याणकारी शाखामा छ । यो रकम संघको काठमाडौं केन्द्रीय कार्यालयबाट प्रक्रिया पुर्‍याएर डोल्माले लिन सक्नेछिन् ।