Top Headlines:

युएईसँग नेपाल ५–० ले पराजित

एएफसी युथ–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत शनिवार सम्पन्न समूह डीअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आयोजक युनाइटेड अरब इमिरेट्स(युएई)सँग ५–० गोलले पराजित भएको छ।

खेलको सुरुवातदेखि नै युएईले नेपाली खेलाडीलाई दबाबमा राखेको थियो। युएईका लागि अहमद हुसैनले २ गोल गरेका थिए।

उनले ८ र २० मिनेटमा गोल गरे। पहिलो हाफमा ४ गोल खाएको नेपालले दोस्रो हाफमा तुलनात्मक रुपमा राम्रो खेल खेल्यो। दोस्रो हाफमा नेपालले १ गोल मात्र खायो। पछिल्लो ३० मिनेट नेपाली डिफेन्डरले युएईका स्ट्राइकरहरुलाई गोल गर्न रोकेका थिए।

युएईका लागि मोहम्मद अलाकाबरीले २३ र खालिद अब्दुल रहिमले ३३ मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको ६० मिनेटमा मोहम्मद रसिदले गोल गरे।

नेपालले छनोट प्रतियोगिताको दोस्रो खेल उज्वेकिस्तानसँग सोमबार खेल्नेछ।