Top Headlines:

कांग्रेसका नेता रामहरि जोशीको निधन

असार ३०, २०७४- कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन भएको छ । ९२ वर्षीय जोशीको ग्रान्डी अस्पतालमा बिहीबार साँझ साढे ७ बजे निधन भएको हो । उनी लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट पीडित थिए । ०४८ सालको जननिर्वाचित सरकारमा शिक्षामन्त्री भएका जोशी पछि पर्यटनमन्त्री भएका थिए । 
जोशी २००७ सालदेखि नै राजनीतिमा सक्रिय थिए । सन्त नेता कृष्णप्रसाद भट्टराईकै पदचाप पछ्याएका जोशीलाई कांग्रेसमा निष्ठा र आदर्शको राजनीतिका प्रतिमूर्ति मानिन्छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार निष्ठा र आदर्शलाई जीवन पद्धति बनाएका जोशी भट्टराईसरहकै नेता हुन् । उनी अविवाहित थिए । राजनीतिमा लाग्दालाग्दै विवाह गर्न नभ्याएको उनले बारम्बार बताउने गर्थे । राजनीतिमा लाग्दा जेल जीवनसमेत भोगेका जोशी ०४८ र ०५१ सालमा जन्मस्थल सर्लाहीबाट सांसद निर्वाचित भएका थिए । 
निधन हुनु केही दिनअघि उनले मृत्युपछि आफूलाई पार्टी कार्यालयमा लगेर कुनै तामझाम नगर्न आफन्तलाई भनेका थिए । तर, वरिष्ठ नेता पौडेलका अनुसार शुक्रबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शव पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि उनको वैदिक परम्पराअनुसार अन्त्येष्टि गरिनेछ । गम्भीर अवस्थामा असार ७ गते अल्का अस्पताल भर्ना भएका जोशीलाई पछि ग्रान्डीमा भर्ना गरिएको थियो ।