Top Headlines:

पाँच दलको बैठक सकियो, आज१० बजे फेरि बस्ने

सिंहदरबार बसेको राजपासहित पाँच दलको बैठक सकिएको छ। निर्वाचन बहिष्कार गरेर माग पूरा नभए असार १४ को निर्वाचन बिथोल्न भन्दै आन्दोलनमा गएको राजपालाई चुनावमा सहभागी गराउने विषयमा छलफल गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बसेको थियो।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम, प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरु सहभागी थिए। राजपाबाट महन्थ ठाकुर, महेन्द्र राय यादव लगायतका नेता सहभागी थिए।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार राजपा नेताहरुले असार १४ को चुनावमा आफूहरु आउन नसक्ने बताए थिए। उनीहरुले आफूहरु चुनावमा आउनका लागि संविधान संशोधन र तराई मधेसमा स्थानीय तह थप्नु पर्ने माग दोहोर्याएका थिए।
‘ती माग पुरा भए पनि असार १४ गतेको चुनाव भने आउने नसक्ने उहाँहरुको कुरा रह्यो’, श्रेष्ठले भने।

बैठकमा सरकार पक्षले आफूहरुले स्थानीय तहको संख्या थपेको तर त्यसलाई अदालत रोकिदिएको बताएका थिए। ‘तपाईँहरुले बुझ्नु भएकै छ, हामीले गरेकै हौं अदालतले रोकिदियो त्यो कुरा तपाईँहरुले जनतालाई भन्न सकिहाल्नु हुन्छ’, सत्ता पक्षको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘हाम्रो प्रयास जारी रहेको कुरा तपाईँहरुलाई अवगतै छ।’

सत्ता पक्षले उक्त बैठकमा मधेस आन्दोलनका मुद्धा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने कुरामा पनि राजपा नेताहरुलाई आश्वस्त पारेका थिए। चुनाव चिन्ह लगायत निर्वाचन आयोगमा पूरा पक्रियामा पनि निर्वाचन आयोग लचक हुने आश्वासन दिएका थिए।
तर राजपाले यी कुरामा सहमति गर्न नमानेपछि हिजोको बिना निष्कर्ष टुंगिएको हो।

हिजोको बैठकले निष्कर्ष निकाल्न नसकेपछि आज बिहान फेरि बैठक बस्ने गरी हिजोको बैठक टुंगिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजपा नेता शरदसिंह भण्डारीले सहमतिका लागि प्रयास भइरहेको बताए। ‘बैठकमा हामीले सरकारले सबै दललाई चुनावमा भाग लिने वातावरण बनाउनु पर्छ  तर त्यस्तो वातावरण अहिलेसम्म बनेको छैन भन्यौं,’ भण्डारीले भने, ‘थप छलफलका लागि  आज बिहान फेरि बस्ने कुरा भएको छ।’

सरकारले आज राजपा नेताहरूसँग बैठक गर्नुअघि निर्वाचन अायोगसँग पनि परामर्श गर्नेछ।