Top Headlines:

आजदेखि देशै भरि निर्वाचन प्रकृया सुरु

मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् ।
संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वा्चित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास निर्वाचन आयोगले लिएको छ ।
राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारका लागि स्वतः निर्वाचन आचारसंहिता लागू हुने छ ।


त्यस्तैः बैशाख २१ मा उम्मेदवारले नामफिर्ता लिने र २२ बैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशान गरिने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । भने २२ बैशाखमा आयोगले उम्मेदारलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ । प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका ४ वटा महानगरपालिकासहित दुई सय ८३ स्थानीय तहमा यही वैशाख ३१ गते पहिलो चरणको चुनाव हुँदैछ ।