Top Headlines:

अमेरिकामा सवारी दुर्घटना हुँदा एक नेपाली युवाको ज्यान गयो

वैशाख ७, २०७४-

वैशाख ७, २०७४- क्यालिफोर्निया राज्यमा एक सवारी दुर्घटना हुँदा नेपाली युवाको मृत्यु भएको छ । बाग्लुङ स्थायी घर भएका २० वर्षीय निराजन पुनको सोमबार कार दुर्घटनामा निधन भएको हो । नर्दन क्यालिफोर्नियाको कोलुसा भन्ने ठाँउमा पुनले चलाइरहेको कारलाई मोडमा अर्को गाडीले ठक्कर दिँदा दुर्घटनाग्रस्त भएको थियो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँका अनुसार सोमबार छुट्टिको दिन, साथीभाइहरुलाई भेटेर फार्टब्रागबाट आफ्नो बासस्थान डेभिस फर्किने क्रममा साँझ, पुनको कार दुर्घटनाग्रस्त भएको थियो । काठमाडौंस्थित गल्फुटारमा बस्दै आएका पुन, सन् २०१५ मा अण्डर १९ फुटबल खेल्न अमेरिका आएका थिए । केही समययता, उनी क्यालिफोर्नियास्थित नेपाली व्यवसायीद्वारा सञ्चालित एक रेन्टुरेन्टमा काम गर्दै आएका थिए । 

उनको अत्येष्टि एवम् परिवारको आर्थिक सहयोगका लागि ‘गो फन्ड मी’ नामक फन्डराईजिंग प्लेटफर्ममा अर्थ सकंलनको अभियान सुरु गरिएको एनआरएनएका बानियाँले कान्तिपुरलाई बताए ।