Top Headlines:

एसएलसी वैशाख १० गतेबाट

वैशाख ५, २०७४- एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण) अर्थात् कक्षा १२ को परीक्षा यही वैशाख १० गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । शिक्षा ऐन (आठौं संशोधन) ले कक्षा १२ सम्म विद्यालय तह कायम गरेपछि पहिलोपटक एसएलसी परीक्षा हुन लागेको हो । 

परीक्षामा देशभरिबाट ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा १ लाख ७६ हजार ६ सय १२ छात्र र छात्रा १ लाख ७६ हजार ४ सय जना छन् । ‘विगतमा कक्षा १० मा लिइने एसएलसीजस्तै गरी पहिलो पटक कक्षा १२ को परीक्षा सञ्चालन गर्ने पूर्ण तयारी भएको छ,’ बोर्डका सदस्यसचिव डिल्ली रिमालले भने, ‘यो पटकको नतिजा लब्धांकपत्रका आधारमा हुनेछ भने अर्को वर्षबाट अक्षरांक (ग्रेडिङ) मा हुनेछ ।’ 
परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार देशभरि ९ सय ९० केन्द्र तोकिएको छ । प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष, १ हजार ६ सय ३९ सहायक केन्द्राध्यक्ष, १७ हजार ६ सय ५० निरीक्षक खटाइने छन् । त्यसैगरी परीक्षामा ११ हजार ८ सय ८० सुरक्षाकर्मीलगायत ३५ हजार ७ सयभन्दा बढी जनशक्ति खटाइने छन् । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन, सुस्तमनस्थिति वा अन्य प्रकृतिका अपांगता भएका परीक्षार्थीलाई विशेष व्यवस्था गरिने जनाइएको छ ।