Top Headlines:

बजार पस्यो हात्ती, पाँचजना घाइते

चैत्र २२, २०७३- सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजारमा मंगलबार बिहान जंगली हात्ती प्रवेश गरी आतंक मच्चाएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षको जंगली क्षेत्रबाट बजारमा आएको हात्तीको आक्रमणबाट हनुमाननगर बजारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये हनुमाननगर-६ का ३० वर्षीय सञ्जय साफीको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीले बिहानैदेखि हात्ती बजार क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासी आतंकित भएका छन् । स्थानीय प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा हात्तीलाई जंगली क्षेत्र तर्फ धपाउने कार्य भइरहेको डिएसपी अधिकारीले बताए ।