Top Headlines:

त्रिभुवन विमानस्थलमा चितुवा पस्यो

चैत्र २१, २०७३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र चितुवा पसेपछि बन्द भएको विमानस्थल अहिले सुचारु भएको छ । सोमबार बिहान करिव ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल बन्द गरिएको थियो । 

एयरपोर्ट प्रहरीका अनुसार चितुवा रनवे र ट्याक्सी वेको बीचरमा रहेको ड्रेनमा लुकेको छ । ड्रेन (पानी जानको लागि बनाइएको ठाउँ) को दुबैतिर सुरक्षाकर्मी र सिकारी तैनाथ गरिएकोले विमानस्थल सुचारु गरिएको छ । ड्युटीमा खटिएका प्रहरीका अनुसार अहिले राष्ट्रिय  निकुञ्ज वन्यजन्तु संरक्षण विभागलाई खबर गरिसकिएको छ । 

तर विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने उक्त जनावर के हो अझै पत्ता नलागेको बताए । उनले भने, 'चितुवा नै भनेर भन्न सकिन्न । त्यो बिरालो पनि हुन सक्छ । हामी खोजी गरिहरेका छौं ।' उनका अनुसार बिहान करिव ३० मिनेट जति विमानस्थल बन्द गरिएको थियो । 

उनले भने, 'अहिले धावनमार्गमा केही समस्या छैन । जहाजहरुले फ्लाइट गरिरहेका छन् ।' अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसरका अनुसार भर्खरै एयर अरेबिया र ड्रुक एयर ल्यान्ड भएका छन् भने जेट एयरवेज भारत उड्ने तयारीमा छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र चितुवा पसेपछि अहिले विमानस्थल बन्द गरिएको छ । सोमबार बिहान करिव ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसले जानकारी दिएका छन् । 

कर्मचारीका अनुसार  ७ बजेतिर धावन मार्गमा चितुवा देखिएको थियो । चितुवा देखिने वित्तिकै सुरक्षाकर्मी र विमानस्थलमा रहेका सिकारीलाई खबर गरिएको थियो । 

अहिले चितुवा देखिएको छैन । सुरक्षाकर्मी र सिकारी मिलेर चितुवाको खोजी कार्य जारी छ । 

ती कर्मचारीका अनुसार विमानस्थल अनिश्चितसमयसम्म बन्द गरिएको छ । उनले भने, 'हामीले यति नै बजेसम्म बन्द भनेर भनेका छैनौं । चितुवाको वस्तुस्थिति थाहा नलागुन्जेल विमानस्थल बन्द हुन्छ ।'

यसले गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । अहिले अवतरणको लागि एरयर अरेबिया र ड्रुक एयर आएका थिए । दुवै जहाज आकाशमा होल्ड छन् भने जेट एयरवेज उड्ने तयारीमा थियो । जेटका सबै यात्रुहरु बोर्डिङ भइसकेपनि चितुवा आएका कारण रोक्किएका छन् ।