Top Headlines:

म्यादी प्रहरीका लागि युबा युबतिको घुइँचो

चैत्र १९, २०७३- स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आह्वान गरिएको म्यादी प्रहरीको आवेदन भर्न सयांै युवाको घुइँचो लागेको छ । शुक्रबार सदरमुकाम खलंगास्थित टुँडीखेलमा म्यादी प्रहरीका लागि प्रवेशपत्र लिन सयौं भेला भए । राजनीतिक पार्टीहरूले आफू निकट युवाहरूलाई म्यादी बन्न हौसला नदिए पनि युवाहरू स्वत:स्र्फूत रूपमा गएपछि दलहरूलाई चुनाव लक्षित गतिविधि गर्न ‘हम्मेहम्मे’ भएको छ । 

राजनीतिक दलहरूले चुनाव लक्षित कार्यक्रम लगेर गाउँ पसे पनि युवाहरूलाई यसप्रति कुनै मोह भएको देखिँदैन । गाउँमा पार्टीका भेला, आमसभाहरूमा पातलो उपस्थिति देखिने गरेको छ । पार्टीका कार्यक्रममा वृद्धवृद्धा र महिलाहरूले मात्र सहभागिता जनाउने गरेका छन् । दलहरूले आफू निकटका युवा संगठनहरूलाई पार्टीका कार्यक्रममा परिचालन गर्न भने पनि युवाहरूले ‘टेरेका’ छैनन् । 

‘दलको प्रचारमा हिँड्दा समयको खर्च मात्रै हो,’ प्यूठान नगरपालिका ५ माझकोटका नारायण पुनले भने, ‘म्यादी बनेपछि थोरैधेरै भए पनि पैसा कमाइन्छ ।’ उनले गाउँमा भएका सबै साथीहरू मिलेर म्यादी प्रहरी बन्न खलंगामा फाराम भर्न गएको बताए । ‘पार्टीले पैसा कमाउने कुनै बाटो देखाएनन्,’ उनले भने, ‘दुईचार पैसा कमाउने माध्यम पनि गुम्ने देखेपछि पार्टीका कार्यक्रममा गएनौं ।’ 

‘गाउँका युवाहरू जति म्यादी प्रहरी बन्न गए,’ साविकको डामृ गाविसका निवर्तमान अध्यक्ष डिलाराम थापाले भने, ‘युवाहरू म्यादी बन्न गएपछि पार्टी गतिविधि चलाउन असर परेको छ ।’ ‘युवाहरूमा म्यादी बन्ने आकर्षण देखियो,’ थापाले भने, ‘नजिकका कार्यकर्ता पनि बुवाआमाले सहयोग गर्नुहुन्छ भनेर म्यादी बन्न गएका छन् ।’ म्यादी प्रहरी बनेका युवाहरू आफ्नै जिल्लामा खट्न नपाउने व्यवस्था छ । जसका कारण दलहरू युवाहरूलाई चुनावमा प्रयोग गर्न नपाउने भएपछि ‘निराश’ बनेको पाइएको छ । ‘युवालाई रोक्ने प्रयास गरेका हौं,’ नेपाली कांग्रेस प्यूठानका महाधिवेशन प्रतिनिधि प्रमोद पोख्रेलले भने, ‘उल्टै म्यादी बनाउनका लागि भनिदिन पो आग्रह गर्छन् ।’

जिल्लामा २ हजार २ सय ८८ जनाले म्यादी प्रहरीमा फाराम भरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । २ सय १८ महिला र २ हजार ७० जना पुरुषले फाराम भरेको प्यूठानका प्रहरी प्रमुख डीएसपी रञ्जितसिंह राठौरले जानकारी गराए । उनका अनुसार तीन दिनभित्रमा आवश्यक छनोट प्रक्रिया पूरा हुनेछ । म्यादी बनेका युवाहरूले प्रहरी जवानसरह सेवासुविधा पाउने छन् । जिल्लाभर १ सय ५१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । मतदान केन्द्रमा आधा म्यादी र आधा प्रहरी सुरक्षाका लागि खट्ने छन् ।