Top Headlines:

महानगरको ३० बुँदे कार्ययोजना

चैत्र १९, २०७३- काठमाडौं महानगर कार्यालयले ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । 

महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलद्वारा शुक्रबार सार्वजनिक गरिएको कार्ययोजनामा बिहान ७ देखि राति १० बजेसम्म कर्मचारी परिचालन गर्ने योजना छन् । १ महिनाभित्र महानगरका प्रत्येक विभागबाट ३/३ जनाको ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरी कार्ययोजना लागू गराउने तयारी छ । ‘कार्यकारी अधिकृत र सबै विभागीय प्रमुखसहित कर्मचारीको टिम एक महिनाभित्र गठन र परिचालन भइसक्छन्’ उनले भने, ‘बिहान ७ देखि ११ बजेसम्म, १२ देखि ५ सम्म र साँझ ५ देखि १० बजेसम्म टिम बन्नेछन् ।’

६ महिनाभित्र सेवा प्रभावकारी बनाउन ४ वटा वडा कार्यालयको सेवालाई ‘सेन्टर अफ एक्सेलेन्स बनाउने, कार्यालयलाई नागरिकमैत्री बनाउने, वडाको सहरी स्वास्थ्य क्लिनिकलाई सुधार गर्ने, सरकारको सहमति लिएर सहरी सडकको सफाइका लागि उच्च क्षमताका धूलो तान्ने मेसिन १० थान खरिद गर्ने योजना महानगरको छ ।

३ महिनाभित्र सडकको सफाइ तालिका बनाएर दैनिक, साप्ताहिक तालिका प्रकाशन गरी सोहीअनुसार गर्ने योजना छ । ‘३ महिनाभित्र सफाइ कर्मचारी परिचालन गरिसकिनेछ,’ पौडेलले भने, ‘लगानी बोर्डबाट फोहोर मैलाको व्यवस्थापन निजी क्षेत्रमा हस्तान्तरण भइसकेपछि सफाइ कर्मचारीलाई भित्री सडक र टोलको सफाइमा लगाइनेछ ।’

राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई विकासदूत नियुक्त गर्ने भएको छ । फोहोरमैला व्यवस्थापन गर्न ओखरपौवा, सिडोल र बन्चरेडाँडाको एकीकृत व्यवस्थापन गर्ने योजना पौडेलले सार्वजनिक गरे । यो काम ३ महिनाभित्र सक्ने उनले बताए । 

उपप्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले महानगरले सार्वजनिक गरेका योजना सामान्यजस्तो लागे पनि यसले दैनिक जीवनशैलीमा ठूलो परिवर्तन ल्याउने प्रतिक्रिया दिए । ‘यो अरू नगरपालिकाका लागि पनि अनुकरणीय बन्न सक्छ,’ मन्त्री थापाले भने ।