Top Headlines:

प्रधानमन्त्री भोलि स्वदेश फर्कंदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासास्थित ऐतिहासिक पोताला दरबारको अवलोकन गर्नुभएको छ । सिचुवान प्रान्तको राजधानी छन्दुबाट आज बिहानै ल्हासा पुग्नुभएका प्रधानमन्त्री दाहालले तिब्बत परिषद्का अध्यक्ष क्विइ जिनसँग द्विपक्षीय सम्बन्धबारे छलफल गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग भएको सो छलफलमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको बताइएको छ । आजै भएको अर्को भेटमा तिब्बतस्थित नेपालका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र यसका लागि महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाकाबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो ।
ल्हासा विमानस्थल पुग्दा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई महावाणिज्यदूत कार्कीसहित महावाणिज्यदूतावासका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहाल भोलि बिहान स्वदेश फर्कने कार्यक्रम छ ।