Top Headlines:

नेपाल बंगलादेशसँग ८३ रनले पराजित, दुई हारसँगै नेपाल समूह चरणबाटै बाहिरियाे

चैत्र १५, २०७३- नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा मंगलबार बंगलादेश यू–२३ सँग ८३ रनले पराजित भएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७ मा रोक्न सफल भएको थियो । तर नेपालका भरपर्दो मानिएका कुनै पनि ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न नसकेपछि नेपाली टिम १७४ रनमा समेटिएको हो ।

यद्दपी नेपालका मध्यक्रमका ब्याट्स्म्यान दिलिपनाथ र दीपेन्द्र ऐरीले भने राम्रो साझेदारी गर्न सफल भएसँगै नेपाल लज्जास्पद हारबाट भने जोगिएको हो । दिलिपले ४१ र दीपेन्द्रले ५६ रन बनाएका थिए । यस्तै तल्लोक्रमका ब्याट्स्म्यान विनोद भण्डारीले ३३ रनको योगदान दिएका थिए ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल सून्य रनमै पेभिलियन फर्किएका थिए भने अर्का ओप्नर सुनिल धमलाले पनि १ रन मात्रै बनाएर आउट भएका थिए । यस्तै निकै भरपर्दो मानिएका शरद भेषावकर पनि २ रनमा आउट भएका थिए ।

बंगलादेशका लागि राहतउल जावेदले ४ विकेट लिएका थिए भने सइफ उद्दीनले ३ विकेट लिएका थिए । यस्तै अब्दुल हसान राजुले २ विकेट लिएका थिए ।

यस्तै नेपालका बलर अभिनाश कर्णले बंगलादेशका प्रारम्भिक ब्याट्स्म्यानलाई सुरुवाति ओभर मै पेभेलियन फर्काउन सफल भएपछि बंगलादेशलाई नेपालले २५७ रनमा समेट्न सफल भएको थियो । कर्णले ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले महत्वपूर्ण २ विकेट लिएर उनलाई साथ दिएका थिए । मेहबुब आलम र ज्ञानेन्द्र मल्लले पनि १–१ विकेट लिएका थिए ।

बंगलादेशका लागि नासिर हुसैनले अविजित १०४ रन बनाएका थिए भने अर्का ब्याट्स्म्यान मोमिनुल हकले ६१ रन बनाएका थिए । 

लगातार दुई हारसँगै नेपाल इमर्जिङ टिम्स कप क्रिकेटकाे समूह चरणबाटै बाहिरिएकाे छ । नेपालले साेमबार पाकिस्तानसँग ६ विकेटले पराजित भएकाे थियाे ।