Top Headlines:

कविता आलेको एकल साँझ सम्पन

 

चर्चित वरिष्ठ गायिका तथा अभिनेत्री कविता आले मगरको एकल सांगीतिक साँझ सोमबार काठमाण्डौको जमल स्थित राष्ट्रिय नाँचघरमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली मौलिक लोक संगीतप्रेमीहरुको लागि स्वर र अभिनय गरेर मनमा बस्न सफल आलेको प्रतिभालाई फेरी एक पटक नजिकबाट हेर्न, सुन्न र महसुस गर्ने मौका मिल्यो उहाँका फ्यानहरुलाई ।

नेपाल मगर साँस्कृतिक संघ र सांस्कृतिक संस्थान नाँचघरले पुराना कलाकारलाई सम्मान र नँया कलाकारलाई प्रोत्साहन भन्ने मुल नाराको साथ संयुक्त रुपमा आयोजना गरेको उक्त एकल सांगीतिक साँझमा नाँचघरको हल दर्शकहरुले खचाखच भरिएको थियो । सुमधुर स्वरकी धनी परिपक्व र वरिष्ठ गायिका तथा अभिनयमा पोख्त कविता आलेले सोमबार आफ्ना अहिले सम्मका चर्चित गीतहरु प्रस्तुत गर्नुभयो ।

उहाँको निकै रुचाइएको उठी खर काटौँ, बसी खर काटौँ, मेरो माया, सक्रांति मेला, छ भने माया, चुरौटे दाइले, लगाएत १३ वटा गीत प्रस्तुत गर्नुभयो । उहाँलाई वरिष्ठ गायिका तारा थापा मगर, वरिष्ठ गायक छत्र गुरुङ लगायतले साथ दिनुभएको थियो ।
सुरुवाती दिनमा कलाकारिता क्षेत्रमा निरन्तरताको लागी श्रीमानको साथ र विश्वासले थप प्रेरणा मिलेको बताउने उहाँले श्रीमान स्वर्गिय जेवि आलेको संकलन रहेको जलेवाले पानी खायो बोलको गीत बाट सुरु गर्नुभयो । गीत गाउँदा उहाँले श्रीमान स्वर्गिय जे.वी आलेलाई सम्झेर भावुक बन्दा दर्शक तथा उहाँका सुभचिन्तकहरुले पनि मन थाम्न सकेनन् । विस २०१२ मा इलाममा जन्मिनुभएकी कविता चार दशकदेखी गायन र अभिनयमा लागीरहनु भएको छ ।

कार्यक्रममा उहाँको प्रस्तुतीको साथै नेपाल मगर सांस्कृतिक संघले तयार पारेको उहाँको वायोग्राफी र नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । औपचारिक रुपमा नेपाल मगर संघ सांस्कृतिक संघका अध्यक्ष कवि मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव भरतमणि सुवेदी, विशेष अतिथीको रुपमा राष्ट्रिय नाचघर जमलका जि.एम राजेश थापा, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नविन रोका मगर लगाएत कलाकारिता क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

संघका महासचिव विलन थापाले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा संघका महिला उपाध्यक्ष अमला थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । औपचारिक र साँस्कृतिक कार्यक्रम गरी दुई भागमा बाँडिएको कार्यक्रम अन्तरगत सांस्कृतिक कार्यक्रमको सञ्चालन भने संघका सचिव डोलराज बारघरे मगरले गर्नुभएको थियो । सोही कार्यक्रममै आर्थिक सहयोग गर्ने वयक्तिहरु र बाध्यबाधकहरुलाई पनि सम्मान गरिएको थियो ।