Top Headlines:

एक साताका लागि संविधान संशोधन प्रक्रिया स्थगित

संविधान संशोधन प्रक्रिया एक साताका लागि स्थगित हुने भएको छ। प्रधानमन्त्रमन्त्री पुष्पकमल दाहाल बिहिबार साताब्यापी भ्रमणका लागि चीन जाने र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दिल्लीमा रहेकाले संविधान संशोधनका लागि दलहरुले अझै एक साताभन्दा बढी पर्खने भएका छन्। सत्तारूढ गठबन्धन र मधेसी मोर्चाले बनाएको संयुक्त कार्यदलले संविधान संशोधनका सवालमा लगभग सहमति जुटाएको छ। अति विवादित सीमांकनको विषय पछि बन्ने संघीय आयोगलाई जिम्मा दिने गरी छाड्न र बाँकी तीन वटा विषयमा मोटामोटी सहमति भएको कार्यदल जनाएको छ। भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय तत्काल संशोधन गरी स्थानीय निर्वाचनमा जाने सहमति कार्यदलभित्र जुटेको हो। यसरी जुटाएको सहमतिमा कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि जानकारी गराउँदै उसँग पनि सहमतिको प्रयास खोजेको छ। सत्तारुढ दलका नेताहरुसँगको छलफलमा एमालेले विगतको अडानबाट पछि हट्दै संविधानको कार्यान्वयनका लागि वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्ने सरकारको प्रतिबद्धता बमोजिम पहिले मोर्चासँग ठोस प्रस्ताव लिएर आउन भनिसकेसको छ। कांग्रेस, माओवादी र राप्रपाका नेताहरुले अघि सारेको प्रस्ताव बमोजिम सहमतिमा आएर निर्वाचनमा जान मोर्चा सहमत भए एमाले सहमतिमा आउने बताइसकेको छ। एमालेसँगको छलफल पछि मंगलबार बसेको कार्यदलको बैठकमा माओवादी नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले मोर्चा लगायतका नेताहरुसँग प्रधानमन्त्री दाहालले एकपटक छलफल गरेपछि पुनः कार्यदल बसेर टुंगो लगाउने बताएका थिए। त्यसैगरी मधेसी मोर्चाको महत्वपूर्ण घटक समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफू नयाँ दिल्लीबाट नफर्केसम्म सहमति नर्गन मोर्चाका तर्फबाट सहभागी कार्यदलका सदस्यहरुलाई भनेका थिए। बुधबार बिहान प्रधानमन्त्री दाहालले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग कुराकानी गरेका थिए। दिल्लीमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका यादव बिहिबार अपरान्ह २:३० बजेमात्रै नेपाल आइपुग्ने छन्। प्रधानमन्त्री दाहालले सम्भव भएसम्म बिहिबार दिउँसोसम्म मोर्चाका अन्य दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् भने पनि मोर्चाले सहमतिको विषयमा यादव फर्किएपछि मात्रै टुंग्याउने बताएको छ। त्यसका लागि भोलि नै मोर्चाका सबै नेतासँग प्रधानमन्त्रीको भेटसँगै मोर्चाको बैठक बस्ने सम्भावना ज्यादै कम रहेकोले सरकारसँगको सहमतिका लागि प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्रै हुन सक्ने मोर्चाका एक नेताले सेतोपाटीलाई बताए। प्रधानमन्त्री दाहालको भ्रमणकै कारण सभामुख ओनसरी घर्तीमगरले संसदको बैठक बुधबारदेखि चैत १७ गतेसम्मका लागि स्थगित गरेकी छन्। दाहालको स्वदेश फिर्ता पश्चात मात्रै दलहरुबीच ठोस सहमति गरी त्यसपछि मात्रै संशोधनको प्रस्ताव सदनमा प्रक्रियाका लागि अघि सारिनेछ।   मोर्चाको महत्वपूर्ण घटक फोरम नेपालका अध्यक्ष दिल्लीमा रहेका कारण कार्यदलको खाका अन्तिम रुप दिन सम्भव भएन। प्रधानमन्त्री दाहाल पनि भोलि नै उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने भएकाले संशोधन प्रस्ताव तयारीको टुंगो लगाउन दलहरुले एक साता कुर्नैपर्ने भएको हो। -