Top Headlines:

गाविस सचिवहरु सदरमुकाममै कार्यक्षेत्रमा जान निर्देशन

अझै पनि अधिकांश गाविस सचिवहरु आफ्नो कार्यक्षेत्रमा नगई सदरमुकाममै बसेर काम गरिरहेको भेटिएको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

मन्त्रालयले २७ वटा जिल्ला विकास समितिको कार्यालय, २७ वटा नगरपालिका र ३२ वटा गाउँ विकास समितिको अनुगमन गरेको थियो । त्यसक्रममा गाविस सचिवहरुले आफ्नो कार्यक्षेत्रमा बसेर काम नगरेको भेटिएको भन्दै मन्त्रालयका सहसचिवहरुले प्रतिवेदन तयार गरेका छन् ।

 

अनुगमन पश्चात मन्त्रालयले तत्काल आफ्नो क्षेत्रमा गएर काम गर्न गाविस सचिवहरुलाई निर्देशन दिएको छ ।

व्यक्तिगत घटना दर्तामा बदमासी

यस्तै गाविस सचिवहरुले व्यक्तिगत घटना दर्ता गर्दा समेत बदमासी गर्ने गरेको अनुगमन टोलीको रिपोर्ट छ ।

व्यक्तिगत घटना दर्ता गर्दा दर्ता किताबमा हस्ताक्षर नगरी खाली राख्ने गरेको र मरेका व्यक्तिको मृत्यु भएको लगायतको मिति समेत उल्लेख नगरेको पाइएको छ । यसरी मरेका मान्छेको मिति उल्लेख नगर्ने र दर्ता किताबमा हस्ताक्षर नगरी बृद्धभत्तामा घोटला गर्ने गरेको पाइएको अनुगमन टोलीका एक सदस्यले बताएका हुन् ।

यस्तै केही गाविस सचिव र जिल्ला विकास समितिको कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र मन्त्रालयले दिएको निर्देशनको समेत कार्यान्वयन नगरेको भेटिएको बताएको छ ।

बेरुजु बढ्यो

अनुगमन टोलीले गाविसहरुमा पेश्की बेरुजु बढिरहेको देखाएको छ । व्यक्तिका नाममा पेश्की दिने तर फछ्र्यौटमा ध्यान नदिने समस्या देखिएको अनुगमनमा उल्लेख छ । मन्त्रालयले पेश्की फछ्र्यौट नभएसम्म नयाँ पेश्की रकम नदिन पनि गाविस सचिवहरुलाई निर्देशन दिएको छ ।