Top Headlines:

लोडसेडिङ हटाउन कुलमान योजनाः ब्याट्री बैंकदेखि खोला फर्काउनेसम्म

लोडसेडिङ मुक्त अभियान थालेको नेपाल विद्युत प्राधिकरणलाई सुख्खायाम लागेपछि विद्युतको माग धान्न धौ-धौ परेको छ । भारतबाट आयात बढाइएको छ भने पिक आवरमा धेरै विद्युत खपत हुने उपकरणहरु प्रयोग नगर्न आग्रह गर्दै आम उपभोक्तासँग पनि सहयोग मागिएको छ ।

तै पनि उत्पादन र मागबीच तालमेल मिलाउन प्राधिकरणलाई हम्मेहम्मे परेको छ । यस वर्ष जसोतसो धानिएला तर, जबसम्म जलायशयुक्त जलविद्युत आयोजना बन्दैनन्, हरेक वर्ष सुख्खायाममा यो समस्या आउनेछ ।

 

चाहेर पनि तत्काल कुनै जलाशययुक्त आयोजना बनाउन पनि सम्भव छैन, कम्तिमा ५/७ वर्ष लाग्छ । त्यसैले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘ब्याट्री पावर बैंक’को विकल्पबारे अध्ययन थालेका छन् ।

‘स्टोरज व्याट्री हाम्रा लागि उपयुक्त हुनसक्छ,’ उनले अनलाइनखबरसँग भने, ‘१००/२०० मेगावाट ब्याट्री स्टोरेज गर्न सकियो भने जलाशययुक्त आयोजना नबन्दासम्म राम्रो हुन्छ ।’

के हो ब्याट्री पावर बैंक ?

बिजुली उपलब्ध नहुँदा मोबाइल चार्जका लागि प्रयोग गरिने पावर बैंक जस्तै हो ब्याट्री बैंक । तर, यसमा सयौं मेगावाट बिजुली स्टोर गर्न सकिन्छ ।


वर्षायाममा नदीको बहाब उच्च हुँदा बिजुलीको उत्पादन मागभन्दा बढी हुन्छ, र खेर गइरहेको छ । अब यसरी खेर जाने विद्युतलाई ब्याट्री बैंकमा जम्मा गर्ने र सुख्खायाममा उपयोग गर्न विद्युत प्राधिकरणले अध्ययन थालेको हो ।

‘अहिले हामी सुख्खायामका लागि कुलेखानीमा पानी जमाउँछौं । तर, यो ब्याट्री बैंकमा भने वर्षायाममा बढी उत्पादन भएका विद्युत् जम्मा गर्न सकिन्छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी भन्छन्, ‘हाम्रा अधिकांश आयोजना ‘रन अफ दि रिभर’ प्रणाीमा भएकाले माग कम भएको समयमा पनि आयोजना चलाएर स्टोर गर्न यो उपयोगी हुने देखिन्छ ।’

उनका अनुसार वर्षायाममा पीक आवरबाहेकका समयमा बिजुली माग भन्दा बढी उत्पादन हुने गरेको छ । र, धेरै जलविद्युत आयोजना क्षमता भन्दा निकै कम चलाइन्छ । तर, ब्याट्री बैंक स्थापना भयो भने आयोजना बन्द गर्नु पर्दैन, बढी उत्पादन भएको विजुली यो बैंकमा जम्मा गर्न सकिन्छ ।

सम्भाव्यता अध्ययनको तयारी

एक सयदेखि २०० मेगावाट ब्याट्री स्टोरेज गर्न सकियो भने नेपालका लागि उपयुक्त हुने देखिएको छ । तर, यसको प्राविधिक रुपमा अध्ययन हुन बाँकी नै छ ।

विद्युत प्राधिकरणका प्रवक्ता अधिकारी भन्छन्, ‘यो प्रारम्भिक अवधारणा हो । अब हामीले नेपालमा कुन समयमा, कसरी खेर जाने बिजुली यस्तो ब्याट्री बैंकमा जोड्न सकिन्छ भनेर समग्र अवस्था अध्ययन गर्नैपर्छ ।’

यस्तै ब्याट्री बैंक स्थापनाको लागतअनुसार प्रतिफल पाइने/नपाइने पनि अध्ययन हुनेछ । र, सम्भावना देखिए प्राधिकरणले १०० मेगावाटभन्दा बढी बिजुली भण्डारण गरेर यसको सुरुवात गर्ने प्रवक्ता अधिकारीले बताए ।

तर, अहिले कति क्षमताको यस्तो बैंक राखिन्छ भन्ने तय भएको छैन । ‘केही निजी कम्पनीहरुले ब्याट्री ब्याकअप बैंक राख्न सकिने गरी प्राधिकरणमै प्रस्ताव ल्याउनुभएको छ । तर, नेपालको सन्दर्भमा त्यो सम्भव हुन्छ वा हुँदैन भनेर हामीले प्रारम्भिक छलफल थालेका छौं,’ प्रवक्ता अधिकारीले अनलाइनखबरसँग भने ।

खोला फर्काउने योजना

प्राधिकरणले ब्याट्री बैंक स्थापनासँगै खोला फर्काउने योजनामा पनि काम थालेको छ ।

जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गरेर छाडिएको पानीलाई फेरि फर्काएर बिजुली उत्पादन गर्ने गरी ‘पम्प स्टोरेज’को अवधारणा अघि सारिएको हो ।

‘अहिले सबै आयोजनामा बिजुली उत्पादन भएपछि पानी सबै बगेर जान दिइन्छ । पम्प स्टोरेज प्रविधि लगाउन सकियो भने पानीलाई फर्काएर फेरि बिजुली उत्पादन गर्न सकिन्छ,’ प्रवक्ता अधिकाारीले भने, ‘विदेशमा प्रचलनमा रहेको यो प्रविधि पनि प्रयोग गर्न गृहकार्य सुरु भएको छ ।’

पम्प स्टोरेज भन्नाले जलविद्युत आयोजनाबाट टर्वाइन घुमाएर बगेर गएको पानीलाई पम्पिङ गरेर फेरि फर्काउने प्रविधि हो । जसले बगेको पानीलाई फर्काएर बारम्बार विजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ । जापानमा यो प्रविधि निकै प्रचलित छ । यसबारे पनि प्राधिकरणले अध्ययन गर्न लागेको छ ।

यो प्रविधिमा पानीलाई फर्काउन ठूला क्षमताका पानी तान्ने पम्पहरु प्रयोग गर्नुपर्ने हुन्छ । जसबाट सुख्खायाममा पानीको अभाव हुँदा पनि बिजुलीको उत्पादन बढ्नेछ । यसले लोडसेडिङ हटाउने अभियानमा निकै सहयोग पुग्ने अपेक्षा छ ।