Top Headlines:

प्रधानमन्त्रीद्वारा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण

प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीको समस्या दिगो र स्थायी हुने गरी छिट्टै समाधान गरिने बताएका छन्।

नेकपा माओवादी केन्द्र चितवनले आज भरतपुर उपमहानगरपालिका– १७ को माडेचौरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी व्यवस्थापनका लागि नीति र कार्यक्रम मन्त्रिपरिषद्बाट छिट्टै पारित गरिने बताए।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई बसिरहेको ठाउँबाट नहटाउने निर्णय गरेअनुरुप अहिले आ–आफ्नो ठाउँमा बसिरहेको बताए।

नेपालमा सुकुम्बासी समस्या प्रमुख र संवेदनशील रुपमा रहेको भन्दै उनले बस्ने ठाउँ सबै नेपालीले पाउनुपर्ने बताए।

शिक्षा, स्वास्थ्य र रोजगारी संविधानमा आधारभूत अधिकारभित्र राखिएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई व्यावहारिक रुपमा अगाडि बढाउन नीति नियम बन्दै गरेको बताए।

सो अवसरमा उनले देशको राजनीतिक परिस्थिति निकै जटिल अवस्थामा रहेको भन्दै निकट भविष्यमा हुनलागेको तीन तहको निर्वाचन सफल बनाउन सबैसँग आग्रह गरे। निर्वाचनको तयारीमा सरकार जुटिसकेको भन्दै उनले निर्वाचनसँगै संविधान कार्यान्वयन भएर जाने बताए।

उक्त स्थानमा भगवती फार्म प्रालिको नाममा रहेको ११ बिगाहा जग्गा विसं २०५८ मा तत्कालीन नेकपा ९माओवादी०ले कब्जा गरेको थियो । सो जग्गालाई गतवर्षको जेठमा माओवादी निकट व्यवसायी कृष्णप्रसाद अधिकारीसहितको समूहले भगवती फार्म प्रालिबाट कब्जापछि बसेका सुकुम्बासीलाई जग्गा दिने सहमतिमा खरिद गरेको थियो । सोही जग्गामा बसेका १५६ घरधुरीलाई प्रतिपरिवार ६ धुरका दरले जग्गाको लालपुर्जा आज वितरण गरिएको हो ।

सोही अवसरमा स्थानीय विद्यालय र बाटिका निर्माणका लागि पाँच कठ्ठा जग्गासमेत हस्तान्तरण गरिएको छ । सुकुम्बासी र विद्यालय एवम् बाटिकालाई जग्गा प्रदान गरेपछि बाँकी रहेको सबै जग्गा बिक्री गरिसकिएको जग्गाधनी कृष्णप्रसाद अधिकारीले बताए।