Top Headlines:

कुलमान घिसिङको फेरी अर्को राम्रो कामको सुरुवात

मिलोमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढदो चुहावट घटाउन विद्युत प्राधिकरणले क्षेत्रीय वितरण कार्यालयका करिब २५ सय कर्मचारीलाई सरुवा गरेको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि चिुहावट घटाउन ८ वटै क्षेत्रीय वितरण केन्द्रलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि कर्मचारी सरुवा गरिएको हो ।

विद्युत चुहावट लक्ष्यअनुरूप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीको विभिन्न उद्योग र बढी खपत गर्ने ठूला ग्राहकसितको मिलोमतो हुनसक्ने निष्कर्षमा पुगेर प्राधिकरणले ठूलो संख्यामा सरुवा गरेको हो । प्राधिकरणको विद्युत चुहावट २५ प्रतिशत हाराहारीमा छ ।

नयाँ ठाउँमा सरुवा भएर जाँदा कर्मचारीको पुरानो नेक्सस टुट्ने र नयाँ ठाउँका बढी बिजुली खपत गर्ने ठूला ग्राहकसित ‘नाजायज सम्बन्ध’ बनाउन समय लाग्ने भएकाले चुहावट घट्ने प्राधिकरणका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार सरुवा भएकामा २२ वर्षदेखि एकै ठाउँमा रहेका कर्मचारीसमेत छन् । सरुवाका साथै वितरण केन्द्रका कर्मचारीको ठूला ग्राहकसितको मिलोमतो र विद्युत चोरीबारे छानबिन गर्ने तयारी पनि प्राधिकरणले गरेको छ ।

राजधानीमा ठूला ग्राहकसित प्राधिकरणकै पूर्व र बहालवाला कर्मचारी मिलेर ठूलोमात्रामा विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले कारबाही अघि बढाएको छ । महाशाखाले प्राधिकरणका बहालवाला ११, १ पूर्व कर्मचारीसहित चार व्यापारीलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

प्राधिकरणका कर्मचारी संघरसंगठनहरूले पक्राउ परेका कर्मचारीहरूलाई कारबाहीबाट उन्मुक्ति दिन ऊर्जा मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङलाई चर्को दबाब दिंदै आएको दाबीसमेत स्रोतको छ । स्रोतका अनुसार अरू वितरण केन्द्रमा समेत राजधानीमा जस्तै ठूला ग्राहकसित मिलेर विद्युत चोरी भइरहेको आशंकामा ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको हो ।

प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले तीन वर्षभन्दा बढी एकै ठाउँमा रहेका करिब २५ सय कर्मचारीलाई कानुनबमोजिम सरुवा गरिएको जानकारी दिए

कांग्रेस र एमाले निकट कर्मचारी संगठनहरूले ठूलो संख्यामा भएको सरुवाको विरोध गर्दै बुधबार कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशक भट्टराईको कार्यकक्ष घेराउ गरे । उनीहरूले ‘राजनीतिक पूर्वाग्रह’ आधारमा गरिएको सरुवा नसच्चिएसम्म विरोध जारी राख्ने चेतावनीसमेत दिएका छन् । ती संगठनले कमाउ अड्डामा रहेका आफ्नो संगठन सम्बद्ध कर्मचारीहरूको सरुवा भएकाले विरोध गरेको जानकारी प्राधिकरणका उच्च अधिकारीले दिए ।

सेटिङमा मिटर बिगारेर बिजुली चोरी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई महानगरिय अपराध महाशाखाले ठगी धन्दामा मुद्दा चलाएको छ । गत माघ ९ मा ११ प्राधिकरणका कर्मचारी, एक पूर्व कर्मचारी र चार व्यापारीलाइ महाशाखाले पक्राउ गरेको थियो । मिटरको सुई उल्टो घुमाएर विद्युत खपतभन्दा कम पैसा उठाई संगठित रूपमा कमाउ धन्दामा बर्षौदेखी यो समुह लागिपरेको महाशाखाको प्रारम्भिक अध्ययनले देखाएको छ ।

महाशाखाका अनुसार अहिले ठगी मुद्धा चलाइए पनि पक्राउ परेकाहरुको सम्पत्तीको बारेमा जाँचबुझ थाल्ने तयारी थालिएको छ । महाशाखाका एसएसपी सर्वेन्द्र खनालले पक्राउ परेकामध्ये केहीको सम्पत्ती अस्वभाविक देखिएको भन्दै तिनको सम्पत्तिको स्रोत खोज्नुपर्ने बताए । उनले भने, ‘पक्राउ परेकाहरुको बयानका आधारमा संगठित विद्युत चोरीमा केही उपल्ला कर्मचारीतिर पनि अनुसन्धान सोझिएको छ ।’