Top Headlines:

उद्योगपति बसन्त चौधरीका ज्वाईं अध्यक्ष हुने गरि,क्यानकी पूर्व सिइओ घिमिरेले खोलिन् क्रिकेट फाउन्डेसन

सन् १९९६ मा श्रीलंकाले पहिलोपटक विश्वकप जित्दा त्यहाँका कोच श्रीलंकामै जन्मिएका डेभ ह्वाटमोर थिए। उनै ह्वाटमोर यतिबेला नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन काठमाडौं आइपुगेका छन्। श्रीलंकासहित बंगलादेश, पाकिस्तान र जिम्बाबेजस्ता टेस्ट टिम सम्हालेका ह्वाटमोरसँग ३२ नेपाली राष्ट्रिय खेलाडीलाई करिब १५ दिन 'हाइ पफर्मेन्स कोचिङ' लिन पाउने छन्। ह्वाटमोर अहिले इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सका प्रमुख प्रशिक्षक छन्। उनलाई पारस शाक्य अध्यक्ष र भावना घिमिरे कार्यकारी निर्देशक रहेको 'ब्याट एण्ड बल' फाउन्डेसनले नेपाल निम्ता गरेको हो। सोमबार ललितपुरको होटल हिमालयमा एक कार्यक्रम आयोजना गरी उक्त फाउन्डेसनको शुभारम्भ गरिएको छ। शुभारम्भ कार्यक्रममा ह्वाटमोर प्रमुख अतिथि थिए भने नेपाली क्रिकेट टिममा कप्तान पारस खड्का अतिथिका रूपमा सहभागी थिए।   शाक्य उद्यमी बसन्त चौधरीका ज्वाईं हुन्। ब्याट एण्ड बल फाउन्डेसनका लागि ह्वाटमोरलाई ल्याएर प्रशिक्षण गराउने खर्च पनि बसन्त चौधरी फाउण्डेसनले नै ब्यहोरेको छ। घिमिरे भने नेपाल क्रिकेट एसोसिएसन क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। क्यान निलम्बन भएपछि उनले अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसि) को नेपाल प्रतिनिधिको रुपमा समेत काम गरिन्। क्यानबाट आफूले राजीनामा दिएको र केही समय आइसिसिको प्रतिनिधिको रूपमा काम गरे पनि अहिले आफू कतै आवद्ध नरहेकाले 'ब्याट एण्ड बल फाउन्डेसन' जोडिएको घिमिरेले बताइन्। 'ग्रास रूट' (आधारभूत तह) मा क्रिकेटको विकासका लागि फाउन्डेसनले काम गर्ने निर्देशक घिमिरेको भनाई छ। तर, क्यान निलम्बित भएको अवस्थामा स्थापित फाउन्डेसनले यो रिक्तताको फाइदा उठाउँदै क्रिकेटका राष्ट्रिय गतिविधिमा नै हात हालेको हो। माघ १२  गतेदेखि २५ गतेसम्म 'हाइ पफर्मेन्स कोचिङ'मा  नेपाली राष्ट्रिय टोलिका अधिकांश खेलाडी सहभागी हुनेछन्। यो प्रशिक्षणले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग खेल्न लागेको नेपाललाई निकै फाइदा पुग्ने घिमिरेको भनाई छ। नेपाली खेलाडीहरूले यस्तो प्रशिक्षण नपाएको र ठूलो प्रतियोगिता अघि खाली बस्नुपरेकाले आफूहरूले यस्तो प्रशिक्षणको व्यवस्था गरेको उनी बताउँछिन्। उनले भनिन्,'हामीले क्यान वा राज्यको भूमिकामा हस्तक्षेप गर्न खोजेको होइन। त्यसभन्दा बाहिरबाट क्रिकेटको विकासका लागि केही गर्न सकिन्छ कि भनेर प्रयास थालेका हौं।'