Top Headlines:

सडक चौडा पीडितको बन्द, सरकार पछि नहट्ने

पत्यकाका सडकहरु चौडा पार्न भनेर दुई छेउका घरहरु भत्काइएको विरोधमा बुधबार बन्द आह्वान गरिएकै दिन विमल होडाको सर्वोच्च अदालतमा पेसी परेको छ।

चाबहिल चोकैमा रहेको उनको तीनतले सिंगो घर पाँच वर्षअघि डोजर लगाएर भत्काइएको थियो। होडाकाअनुसार सर्वोच्च अदालतले घर नभत्काउन निषेधाज्ञा जारी गरेकै बेलामा सरकारले उनको घर भत्काइदिएको थियो।

‘त्यसपछि फेरि कानुनकै सहारा खोज्दै अदालत गएको अहिलेसम्म पेसी सरेको सर्यै भइरहेको छ,’ होडा भन्छन्, ‘म मात्र होइन, यसरी अदालतमा न्याय माग्न गएका कसैले पनि क्षतिपूर्ति पाएका छैनन्।’
घर भत्केको लगत्तै सडक चौडा पारिसकेपछि यतिबेला होडाको घरको अस्तित्व पनि चाबहिल भएर ओहोरदोहोर गर्नेहरुले बिर्सिसकेका छन्। तर, होडाले चाहिँ कसरी बिर्सिउन्?

‘उतिबेलै हाम्रा पुर्खाहरु भक्तपुरबाट बसाइ सरेर आएपछि जोडेको सम्पत्ति थियो त्यो,’ होडा प्रश्न गर्छन्, ‘पछि बनेको चक्रपथलाई चौडा पार्न भनेर उठिवासै हुनेगरी हाम्रो घर भत्काइनु कतिसम्म न्यायसंगत थियो?’

कालिमाटीस्थित आफ्नो घर भत्किने भएपछि विरोधमा उत्रिएका रामशरण मानन्धरलाई बुधबार बन्दको समर्थन गरिरहेकै बेला प्रहरीले समातेर थुनेको थियो। विद्युत प्राधिकरणमा इन्जिनियर रहेका मानन्धर दुई वर्षअघि अवकाश पाइसकेका व्यक्ति हुन्।

‘कि त व्यक्तिलाई उसको सम्पत्तिमाथि हक अधिकारै छैन भनिदिनु पर्यो,’ कालिमाटी चौकीमा प्रहरी हिरासतभित्रै रहेका मानन्धर सेतोपाटीलाई भनिरहेका थिए, ‘अहिलेकै अवस्थामा सरकारसँग कुनै सम्झौता हुँदैन।’

एक वर्षअगाडि गठन भएको ‘भ्याली पीडित संघर्ष समिति’का सदस्य रहेका मानन्धरसहित पाँच जनालाई कालिमाटीको सडकबाटै प्रहरीले पक्राउ गरेको थियो। उनकाअनुसार समितिकै आवहनमा बुधबार बन्द गराउन खोज्दा अन्यत्रबाट पनि समातिएका झण्डै बीसजना सहकर्मी भृकुटीमण्डपस्थित पुलिस क्लबमा पनि थुनिएका छन्।

कालिमाटीमा क्षयरोग अस्पतालको विपरित मुख्य सडकमै २०३६ सालमा नक्सा पास गरेरै बनाइएको घर अहिले भत्किने अवस्थामा पुगेको मानन्धर सुनाउँछन्। २०१४ सालमा उनको जन्म हुनुभन्दा अगावै बाजेले त्यो जग्गा किनेको उनको भनाइ छ।

‘त्यतिबेला एघार हजार रुपैयाँ रोपनीका दरले किनेको जग्गा अहिले आनाकै एक करोडसम्म पर्ने भइसक्यो,’ उनी सोध्छन्, ‘सरकारले जथाभावी गरेको सस्तो मूल्यांकनका आधारमा कसरी कब्जा गर्न सक्छ?’

त्यसमाथि सरकारले अहिले उठीबास हुने व्यक्तिबाहेक अन्यलाई जग्गाको मुआब्जा दिइरहेको छैन। केवल भत्केको घरको मात्र क्षतिपूर्ति दिइँदै आएको छ।

काठमाडौं सांस्कृतिक महत्वको सहर भएकामा अहिले अमेरिका र युरोपजस्तो बनाउन खोज्दै आफूजस्ता रैथाने वासिन्दालाई मर्कामा पार्न खोजेको आरोप मानन्धर लगाउँछन्। कतिपय टोलेहरुको भएभरको सबै घर जाने अवस्था आएको र उनीहरुको सरकारी क्षतिपूर्तिबाट नोक्सान मुताविकै चित्तवुझ्दो पुनस्र्थापना पनि नहुने स्थिति रहेको मानन्धर सुनाउँछन्।

उनकाअनुसार सरकारको यस्तो ‘मनपरी’ बढेपछि नै बौद्ध, जोरपाटी, टोखा, साँखुदेखि लिएर सतुंगल, नैकाप, थानकोटलगायत उपत्यकाभित्र सबैतिर सडक विस्तार पीडितहरु संगठित बनेका हुन्। आफूहरुको आन्दोलनमा उपत्यकाका सम्पूर्ण रैथानेहरुको समर्थन रहेको उनको दाबी छ।

‘सम्पत्ति गुमाउनेहरुलाई एक्ल्याएर उल्टो विकास विरोधी देखाउन खोजिएको छ,’ उनी भन्छन्, ‘हामी जे जस्तो अवस्थामा पनि छोड्नेवाला छैनौं।’

अर्कोतर्फ मानन्धर र होडाजस्ता व्यक्तिहरुले आफूलाई पीडित भन्ने कुनै आधार नरहेको दाबी काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी गर्छन्।

‘२०३३ साल र २०४५ सालमा तोकिएको मापदण्डअनुसार अहिले कारवाही भइरहेको हो,’ तिवारी भन्छन्, ‘कानुनतः सरकारले मापदण्ड तोकेको छ महिनाभित्रै त्यसलाई बदर गराउन अदालत जानुपर्छ।’

उतिबेलै मापदण्ड तोकेर स्थापित भइसकेको कुरालाई अहिले आएर ‘अन्याय’ भन्न नपाइने तिवारीको तर्क छ। तिवारीका नुसार होडाको घर चक्रपथमा परेको स्पष्ट छ। त्यसैगरी चक्रपथ स्वयं नै पचास मिटर चौडा हुने कुरा सर्वविदितै छ। यस्तो अवस्थामा तोकिएको दुरीभित्र परेका घर भत्काउनु कुनै पनि हिसाबले गलत नभएको अडान तिवारीको छ।

‘जसको उठीबास भएको छ उनीहरुको जग्गा र घर दुवैको मूल्यांकनअनुसार क्षतिपूर्ति सरकारले दिइरहेकै छ,’ तिवारी भन्छन्, ‘जग्गाको मूल्यांकन मालपोतले तय गरेको रेट र भवनको मूल्यांकन सहरीविकास तथा भवन निर्माण विभागको घोषित रेट अनुसारै दिइन्छ।’

सम्पत्तिको यस्तो मूल्यांकन हरेक तीन वर्षमा ‘रिभ्यू’ हुनेगरेको तिवारी बताउँछन्।

‘पोहोरसम्म पनि विभागले घर बनाउन प्रति वर्गफिट १७ सय रुपैयाँ मूल्यांकन तोकेकामा अहिले त्यसलाई बढाएर २६ सय रुपैयाँ पुर्याइसकिएको छ,’ तिवारी भन्छन्, ‘यही मूल्यांकन अनुसारै भत्काइएको घरको क्षतिपूर्ति सबैले पाइरहेकै छन्।’

चालिस वर्ष पहिले कायम गरेको मापदण्डअनुसार सरकारले आफ्नो कदम कानुनतः अघि बढाइरहेकै बेलामा भावनात्मक कुरा गरेर कसैले हुलमुल गर्छ भन्दैमा कदम पछाडि सार्ने कुरै नआउने तिवारी अडान प्रकट गर्छन्।