Top Headlines:

गगन थापा भन्छन्, "त्रिवि उपकुलपति खनियाँ र केपी सिंहलाई हटाउन प्रयास गर्छु"

स्वास्थ्यमन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र चिकित्सा शिक्षा अध्ययन संस्थान (अाइअाेएम)का नवनियुक्त डिन केपी सिंहलाई हटाउन अाफूले प्रयास गर्ने बताएका छन्। १७ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीलाई भेट्न मंगलबार टिचिङ अस्पताल पुगेका मन्त्री थापाले उपकुलपति र डिन हटाउन प्रधानमन्त्रीले मात्र गर्नसक्ने भएकाले त्यसका निम्ति पहल गर्ने अाश्वासन दिएका हुन्। 

लामाे समयदेखि अनसन बसेका केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएपछि थापा केसीलाई भेट्न गएका थिए। केसीले खनियाँ र सिंहलाई बर्खास्त नगरेसम्म अनसन जारी राख्ने बताएका थिए।

त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेसँगै केसीले दसौं सत्याग्रह थालेका हुन्। वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने चार पाँच वर्षयताको थिति तोडेर त्रिवि उपकुलपति तीर्थ खनियाँले सिंहलाई नियुक्त गरेपछि केसीले सिंह र खनियाँ दुबैको बर्खास्त मागेका छन्।

वरिष्ठताका आधारमा प्राध्यापक डाक्टर जगदीश अग्रवाल डिन नियुक्त हुनुपर्ने हो। राजनीतिक दलको भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा व्याप्त मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रिवि, दलका नेता लागेको केसीले बताउँदै आएका छन्। तीन महिनामात्र सेवाअवधि भएका सिंहको नियुक्ति राजनीतिक स्वार्थका लागि भएको केसीको भनाइ छ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, मेरिटका आधारमा तोकिएको शुल्कमा मेडिकल कलेजहरूले एमबिबिएस भर्ना लिइनुपर्नेलगायत दस बुँदे माग राखी केसी अनसन बसेका हुन्। विगतमा सत्याग्रह तोडिँदा पटक–पटक सम्झौता भए पनि सरकारले केसीका माग पूरा गरेको छैन।