Top Headlines:

लेस्टर अन्तिम १६ मा, कागवाको च्याम्पियन्स लिगमा गोल

इङ्लिस च्याम्पियन क्लब लेस्टर सिटीले युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको ‘डेब्यु’ मा उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। समूह ‘जी’ अन्तर्गत मंगलबार राती भएको खेलमा लेस्टरले क्लब ब्रुगेलाई २–१ गोलले पराजित गर्ने क्रममा अन्तिम १६ मा स्थान बनायो।

‘दि फक्सेस’ लाई नकआउट चरणमा प्रवेश गर्न एक अंक आवश्यक थियो। तर, आफ्नो अपराजित यात्रालाई जारी राख्दै लेस्टरले तीन अंक जोड्यो। जसका कारण लेस्टर समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

लेस्टरको जीतमा जापानी स्ट्राइकर सिन्जी ओकाजाकीको प्रदर्शन उत्कृष्ट रह्यो। क्लाउडियो रेनेरीको टोलीमा समावेश भएदेखि अविस्मरणीय प्रदर्शन गर्दै आइरहेका ओकाजाकीले मंगलबार खेलको पाँच मिनेटमै लेस्टरका लागि गोल गरे। सन् २०१३ मा केइसुकी होन्डाले गोल गरेपछि च्याम्पियन्स लिगमा गोल गर्ने उनी छैटौ जापानी खेलाडी बन्न पुगेका छन्।

अर्को गोल रियाद माहारेजले पेनाल्टीमार्फत गरे। च्याम्पियन्स लिगको पाँचौ खेलमा उनको यो चौथो गोल थियो। ३० मिनेटमा मार्क अलब्रिगटनलाई डिबक्स भित्र डियोन कुलले लडाएपछि प्राप्त पेनाल्टीलाई रिहादले गोलमा परिणत गरे।

लेस्टरले पहिलो हाफमा दुई गोलको अग्रता लिइसकेको थियो। ५२ मिनेटमा ४० यार्ड टाढाबाट जोसे इजक्वेर्डोले गोल गर्दे ब्रुगेलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यो सफल हुन सकेन्। लेस्टर दोस्रो इङ्लिस क्लबको रुपमा च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो।

लेस्टर ५ खेलमा १३ अंकका साथ शीर्षस्थानमा छ। यस्तै, पोर्टो ८ अंकसहित दोस्रो स्थानमा उभिएको छ। यही समूहको अर्को खेलमा पोर्चुगिज क्लब पोर्टोलाई गोलरहित बराबरीमा रोकेपछि एफसी कोपेनहेगनको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जिवित छ। कोपेनहेगनको ६ अंक छ। ब्रुगेले खाता खोल्न सकेको छैन्।

लेस्टरले च्याम्पियन्स लिगको ‘डेब्यु’ मा उत्कृष्ट प्रदर्शन गरेपनि घरेलु लिगमा प्रभाव जमाउन सकेको छ्रैन्। च्याम्पियन्स लिगको चार खेलमा विजयी र एक खेल बराबरीमा खेलेको गत सिजनको इङ्लिस च्याम्पियन क्लबले घरेलु लिगमा तीन खेल मात्र जितेको छ।