Top Headlines:

बौद्ध महाचैत्यको प्राण प्रतिष्ठा

भूकम्पबाट क्षतिग्रस्त भएपश्चात् पुनर्निर्माण गरिएको विश्व सम्पदामा सूचीकृत बौद्धनाथ महाचैत्यको आइतबार प्राण प्रतिष्ठा गरिएको छ । शुक्रबारबाट बौद्ध धर्मगुरुले शुद्धीकरण पूजा सुरु गरेका थिए । दुईदिन शुद्धीकरण पूजा गरी तेस्रो दिन प्राण प्रतिष्ठा गरिएको हो । 

भूकम्पले भत्काएका विश्व सम्पदामा सूचीकृत संरचनामध्ये पुनर्निर्माण सकिएको यो पहिलो हो । शुद्धीकरण पूजामा बौद्ध धर्मको महायानअन्तर्गतका ४ सम्प्रदाय पूजामा सहभागी थिए । महाचैत्यको चार सुरमा अलग–अलग सम्प्रदायका धर्मगुरुले डुस्याक पाठ गरी प्रार्थना गरेका थिए । चारै सम्प्रदायको पूजा विधि फरक हुन्छ । पूजा विधि फरक भए पनि उद्देश्यचाहिँ महास्तूप शुद्ध गर्नु र प्राण प्रतिष्ठा गर्नु हो । 

स्तूप जीर्णाेद्धार सुरु गर्नुअघि अच्र्यु (क्षमा) पूजा गरी प्राण निकालिएको थियो । ‘माथि कुनै दुर्घटना नहोस् भनेर प्राण निकालिएको थियो,’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा भन्छन्, ‘काम गर्ने चढ्छन्, दूषित बनाइदिन्छन् भनेर प्राण निकालिएको थियो ।’ भूकम्पले महाचैत्यको डोम (गर्भ) माथिको भाग चर्किएको थियो । डोम माथिको हर्मिका (आँखा भएको भाग) चर्किएको थियो । त्यसमाथिको १३ तला (स्टेप) हरू सबै भत्किएको थियो ।

यसमा चुना, सुर्की, बालुवाको प्रयोग भएको छ । सबैभन्दा बढी क्षति ‘सोक्सिङ’ (रष्ती) मा पुगेको थियो । सोक्सिङलाई स्तूपको मेरुदण्ड मानिन्छ । १३ तलाको बीचमा हुने ‘सोक्सिङ’ मा अगरागको काठ हुन्छ । त्यसमा सुनको अक्षरले बुद्ध मन्त्र लेखिएको हुन्छ । ‘सोक्सिङ’ को चारै दिशामा बहिलोचन, रत्नसम्भव, अमिताभ र अमोकसिद्धिसहित पञ्चबुद्धको प्रतिमा राखिएको हुन्छ । पञ्चबुद्ध राख्ने बेलामा थुप्रै बौद्ध धर्मको विधि पुर्‍याउनुपर्ने लामाले जानकारी दिए । पञ्चबुद्ध राख्ने बेलामा १३ दिन पूजा गरिएको लामाले जानकारी दिए । सोक्सिङ गर्भदेखि राखिएको हुन्छ । यहाँ भने गर्भदेखि सोक्सिङ नभेटिएको लामाले जानकारी दिए ।

गर्भदेखि माथिको भाग सुनको मोलम्बा लगाएको पाताले मोरिएको छ । यो मोर्न ३१ किलो सुन लागेको लामाले जानकारी दिए । पहिला २७ किलो लाग्ने अनुमान गरिएको थियो । ‘पाता फरक रहेछन् । कोही पाता पातलो रहेछन्, कोहीमा जिंक बढी मिसाइएको रहेछ,’ लामाले भने, ‘त्यही भएर सोचेभन्दा बढी लाग्यो ।’ बौद्धनाथ उपत्यकाको पुरानो सम्पदामध्येमा पर्छ ।
महाचैत्यको गोलाइ १ सय २० फिट छ । यसका ५ तह छन् । यी तहले पञ्चतत्त्व बुझाउँछ । जमिनको भागदेखि पेटीसम्म पृथ्वीतत्त्व, त्यसमाथिको गर्भ (डोम) ले जल तत्त्व, १३ तलाले अग्नितत्त्व, छत्रवलीले वायुतत्त्व र गजुरले आकाशतत्त्व बुझाउँछ । पेटी मण्डल आकारको छ । त्यहाँमाथि गर्भ उठाइएको छ । गर्भको दुई तहमा पहेंलो रङको बुट्टा राखिएको छ । बुट्टा कमलको पातको आकारको छ । गर्भको बीचभागबाट घुम्न सकिन्छ । अरू चैत्यभन्दा यो बेग्लै विशेषता हो । गर्भको बीचको यो घुम्ने भागमा खोपा छन् । खोपामा लोकेश्वरको मूर्ति राखिएको छ । गर्भको लगत्तै हर्मिका राखिएको छ । हर्मिकामा ४ आँखा छन् । बीचमा एउटा विम्ब र प्रश्नचिह्न राखिएको छ । 

आँखलाई ध्यानी बुद्ध मानिन्छ । महाचैत्यको गर्भसम्मको भाग बलियो छ । यहाँसम्म पुरै पर्खालले प्याक गरिएको हुन्छ । त्यही भएर भूकम्पले यो भागमा क्षति पुर्‍याएन । विश्व सम्पदामा सूचीकृत भएपछि यो महाचैत्य देश, विदेशमा चर्चित भएको छ । राजधानीमा योसहित स्वयम्भू, पशुपतिनाथ, चाँगुनारायण, हनुमानढोका दरबार, ललितपुर दरबार र भक्तपुर दरबार गरी ६ विश्व सम्पदा छन् ।