Top Headlines:

साइप्रसमा ठगिँदै नेपाली महिला

मंसिर २, २०७३- भोजपुरकी निर्मला राई ५ लाख रुपैयाँ तिरेर साइप्रस पुगिन् । एजेन्ट तथा म्यानपावर कम्पनीले युरोपेली देश भएकाले काम गर्न सजिलो र सुविधा धेरै पाउने भन्दै लोभ्याएपछि त्यति रकम बुझाइन् । तर, त्यहाँ पुगेपछि उनलाई थाहा भयो, यो त ‘नाम मात्रैको युरोप’ रहेछ । ‘५ लाख बुझाएर आएँ, महिनाको ३ सय युरो (करिब ३५ हजार रुपैयाँ) तलब पाइयो,’ उनले भनिन्, ‘यो कमाइले त एक वर्षमा पनि आउँदा लागेको खर्च नै उठ्दैन ।’ खर्चको हिसाबले अत्यन्त न्यून तलब पाइए पनि आइसकेपछि यत्तिकै फर्किन नसक्ने भएकाले आफूले काम गरिरहेको उनले बताइन् । भनिन्, ‘दोहोरो दबाबमा परियो ।’

घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन । घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि नि:शुल्क लागतको व्यवस्था गरेको छ । तर, वैदेशिक रोजगार विभागले साइप्रसको हकमा निर्देशिका लागू गर्न नसक्दा एक जनाले ५ लाख रुपैयाँसम्म बुझाएका छन् । साइप्रसस्थित गैरआवासीय नेपाली संघका अनुसार त्यहाँ झन्डै ४ हजार नेपाली हाउसमेड (घरेलु कामदार) कार्यरत छन् । कामदारसँग गरेको करारपत्र मालिकले उल्लंघन गरे पनि सुनुवाइ गर्ने निकाय छैन । साइप्रसमा नेपालबाट हाउसमेडलगायत कामदार पठाउन ५७ वटा म्यानपावर कम्पनीले स्वीकृति लिएका छन् । करिब १९ सय हाउसमेड तिनै कम्पनीमार्फत साइप्रस पुगेका छन् ।

सरकारले घरेलु कामदारमा जान पैसा नलाग्ने भने पनि दोलखाकी पेमा डोमा शेर्पाले गुड सर्भिसेस म्यानपावरलाई ४ लाख ७५ हजार रुपैयाँ, गोरखाकी सानु गुरुङले पाथीभरा ओभरसिजलाई ४ लाख रुपैयाँ, काभ्रेकी सीतामाया लामाले एलायन्स ह्युमन रिसोर्सेसलाई ४ लाख रुपैयाँ, सिन्धुपाल्चोककी निमा शेर्पाले सिलिंक ओभरसिजलाई ४ लाख २५ हजार, सावित्री तामाङले युनिभर्सल इन्टरनेसनल म्यानपावरलाई ४ लाख २५ र कुम्भ भण्डारीले गौतम म्यानपावरलाई ४ लाख ७० हजार रुपैयाँ बुझाएर साइप्रस पुगेका थिए ।

‘साइप्रस युरोप भएकाले घरेलु कामदारको निर्देशिका कार्यान्वयनमा ल्याएको छैन,’ वैदेशिक रोजगार कार्यालयका प्रमुख कृष्णप्रसाद दवाडीले भने, ‘यसमा छलफल गर्न जरुरी छ ।’ घरेलु कामदारको निर्देशिका कार्यान्वयन नगर्दा म्यानपावरहरूले मनलाग्दी ढंगले रकम असुल गरिरहेका छन् । त्यसमाथि घर मालिकले चरम शोषण गरे पनि उनीहरू स्वदेश नफिरी गैरकागजातको हैसियतमा बस्नुपर्ने बाध्यता छ ।

८ युवती शरणमा
साइप्रसको राजधानी निकोसियास्थित एक सोसल सेन्टरमा ८ नेपाली युवतीले शरण लिएर बसेको महिनौं भइसक्यो । ‘नेपालमा फर्केर ऋण तिर्न नसक्ने स्थिति भएपछि उनीहरू यतै काम खोजेर बस्न चाहेका छन्,’ इजरायलस्थित नेपाली दूतावासबाट साइप्रसमा काउन्सिलर सेवा दिन पुगेका प्रथम सचिव हरिहरकान्त पौडेलले भने, ‘हामीले टिकटको व्यवस्था गरिदिन्छौं भन्दा पनि उनीहरू नेपाल फर्किन मानेनन् ।’

म्यानपावर कम्पनीले हाउसमेडमा पठाउनेमा अधिकांश शिक्षित र त्यसमध्ये पनि धेरैजसो नर्स छन् । ‘जे जस्तो नाममा पठाए पनि यहाँ आएर गर्ने घरकै काम हो,’ पौडेलले भने । दूतावासले केही हाउसमेडबाट श्रम तथा शारीरिक शोषण भएका उजुरीहरू आएको जानकारी दिएको छ । ‘काम गर्ने कुनै निश्चित घण्टा छैन । दैनिक १५/१६ घण्टा काम गर्नुपर्छ । साप्ताहिक र सरकारी बिदामा पनि काम गर्नैपर्छ । ओभरटाइमको व्यवस्था छैन,’ सुनमाया तामाङले भनिन्, ‘खाने, बस्ने सुविधा छैन ।’  

पीडितसँग कमिसन
यातना वा दुव्र्यवहार भएर काम गरिरहेको घर छाड्ने हाउसमेडका लागि सुरक्षित आश्रयस्थल छैन । ‘स्वदेश फिर्न चाहे प्रहरीमा गए तीन दिनभित्र प्रक्रिया पूरा गरेर सरकारी टिकटमा स्वदेश पठाइदिने गरेको छ । साइप्रसमै काम गर्न चाहने हाउसमेडलाई नेपाली दलालले फ्ल्याटमा राख्ने गर्छन् । उनीहरूलाई काम खोजिदिएबापत प्रतिव्यक्ति तीन सय युरो दलालले लिने गरेका छन्,’ पौडेलले भने, ‘सेल्टर नभएकाले दलाललाई फाइदा पुगेको छ ।’ गैरआवासीय नेपाली संघ साइप्रसका अध्यक्ष सुवास मल्लका अनुसार नेपाली एजेन्टले उल्टो धम्की दिने गर्छन् । ‘समस्यामा परेका महिलालाई नेपाली एजेन्टले सहयोग गर्नुको सट्टा उल्टो मानसिक यातना दिने र धम्क्याउने गरेका थुप्रै घटना छन् । घरबाट भागेर हिँड्नेलाई चोरी अभियोग लगाउने गरेको छ,’ मल्लले भने, ‘राहदानी र भिसा कार्ड कामदारलाई नदिई एजेन्ट वा मालिक आफैंले राखिदिनुका साथै प्रत्येक महिना बुझाउने सामाजिक बिमाको रकम घर फिर्ने बेला पाउने गरेका छैनन् ।’

साइप्रसमा काम गर्नेहरूका लागि अर्को समस्या समयमा तलब नबढ्नु पनि हो । साइप्रसले आर्थिक मन्दीका कारण हाउसमेडको तलब बढाउन नसकिने प्रस्ट पारेको छ ।


साभार EKANTIPUR