Top Headlines:

सोलिडारिटी कप: नेपालको उपाधि भिडन्त मकाउसँग

सोलिडारिटी कपको उपाधिको लागि नेपालले मकाउसँग भिड्ने भएको छ ।  मकाउले ब्रनाईलाई टाइब्रेकर ४-३ ले हराउँदै नेपालसँगको भेट पक्का गरेको छ  । निर्धारित ९० मिनेट थप समय १–१ को बराबरीमा खेलेपछि टाइब्रेकरमा मकाउले बाजी मारेको हो । नेपाल लाओसलाई टाइब्रेकरमा ३-० ले हराउँदै फाइनलमा पुगेको छ । टाइब्रेकरमा नेपालका सुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामाले गोल गरे । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

 

खेलको १७ औँ मिनेटमै लाओसले गोल गरेर अग्रता लिएको थियो । नेपालका बिमल घर्तीमगरले खेलको ४७ औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा नेपालका लागि अनन्त तामाङले गोल गरेर २–१ को अग्रता दिलाएका थिए तर त्यो धेरै समय टिकेन र लाओसले बराबरी गोल फर्काएको थियो ।