Top Headlines:

अमेरिकी राष्ट्रपति पदका लागि आज निर्वाचन

अमेरिकामा मंगलबार नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि सत्तारूढ डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच प्रतिष्पर्धा हुँदैछ।  नेपाली समयानुसार पहिलो मतदान बिहान सवा १० बजे न्यु हेम्सायरको डिक्सविल नोचमा खसालिने छ। मतदान नोभेम्बर ९ को बिहान ६ बजेसम्म गरिनेछ। मतदानको नजिता मंगलबार राति देखिनै आउन थाल्ने समाचारहरूमा जनाइएको छ।  निर्वाचनमा जित हासिल गर्ने उम्मेदवारले आगामी २० जनवरीमा राष्ट्रपति भवन व्हाइट हाउसमा आफ्नो कार्यभार सम्हालनेछ। अमेरिकी संविधानका अनुसार कुनै पनि राष्ट्रपति ८ वर्षभन्दा बढी समयका लागि राष्ट्रपति पदमा रहन सक्दैन। बाराक ओबामा लगातार दोस्रो पटक जित हासिल गर्दै ८ वर्षका लागि राष्ट्रपति भइसकेका छन्।  यसरी हुन्छ निर्वाचन अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन देशका मतदाताहरूले अप्रत्यक्ष रुपमा हुने गर्छ। मतदाताले पहिले एक निर्वाचन मण्डललाई चुन्छन्। सोही निर्वाचन मण्डलले राष्ट्रपतिको निर्वाचन गर्ने गर्छ। अमेरिकी कांग्रेसका दुई वटा सदन छन्। प्रतिनिधि सदनमा ४३५ र सीनेटमा १०० सदस्य रहने व्यवस्था छ। कोलम्बियाको पनि मिलाउँदा कुल सदस्यको संख्या ५३८ हुन जान्छ। यसही ५ सय ३८ सदस्यले राष्ट्रपतिको चयन गर्छन्। जुन उम्मेदवारले २७० भन्दा धेरै भोट हासिल गर्छन्, त्यही उम्मेदवार अमेरिकाको राष्ट्रपति बन्ने गर्छ। बहुमत हासिल गर्नका लागि ५३८ मा २७० मत पाउनु आवश्यक हुन्छ।  प्रचारमा पनि प्रतिष्पर्धा प्रचारको अन्तिम क्षणसम्म दुवै उम्मेदवारले आफूलाई जिताउन आग्रह गर्दै एक-अर्कोलाई व्यक्तिगत आक्रमण गर्न भने छोडेनन्। ट्रम्पले इमेल प्रकरणको मुद्दा अगाडि सारेर हिलारीलाई कमजोर पार्ने प्रयास गरेका छन् भने हिलारीले पनि ट्रम्पको यौन आचरणलाई अगाडि सारेर ट्रम्पलाई कमजोर पार्ने प्रयास गरेकी छन्। दुवैले एक-अर्कालाई व्हाइट हाउसमा प्रवेश गर्नका लागि उपयुक्त नभएको तर्क गर्दै आएका छन्।  चुनाव प्रचारका क्रममा यी दुईले निजी र आफन्तको आचरण र स्वास्थ्यलाई लिएर आरिप-प्रत्यारोप गरेका थिए। एकसाथ भएको बहसका क्रममा ट्रम्पले हिलारीलाई जेल सजाय दिनेसम्म धम्की दिएका थिए।  कस्को पल्ला भारी? मतदानभन्दा केही अगाडि हिलारीलाई एफबीआईले क्लिन चिट दिएपछि डेमोक्रेटिक उम्मेदवार हिलारीलाई राहत मिलेको छ भने ट्रम्प भने रिसाएका छन्। उनले एफबीआईले दिएको क्लिन चिटलाई उदृत गर्दै देशको व्यवस्था नै भ्रष्ट भएको आरोप समेत लगाएका छन्।  यस निर्वाचनमा ट्रम्पले अमेरिकालाई पुन महान् बनाउने नारा लिएका छन् भने हिलारीले महिला र अल्पसंख्यकलाई साथमा लिएर सबैको विकास गर्ने नारा लिएकी छन्।  यी दुई बीच हुने प्रतिष्पर्धा नजिकको हुने अनुमान गरिएको छ। दुवैबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ। यदी हिलारीले जितेमा नयाँ इतिहास बन्नेछ। अमेरिकाको २४० वर्षको इतिहासमा राष्ट्रपति बन्ने हिलारी पहिलो महिला बन्नेछिन्।  यस्तै, डेमोक्रटिक पार्टीका तर्फबाट उप-राष्ट्रपतिका लागि टिम केनलाई उम्मेदवार बनाइएको छ भने रिपब्लिकन पार्टीका तर्फबाट माइक पेन्सलाई उम्मेदवार बनाइएको छ।