Top Headlines:

'मिनी माउरिन्हो' मा दरिँदै नागेल्सम्यान

२९ वर्षको उमेरमा जुलियन नागेल्सम्यानले जर्मन बुन्डेसलिगा इतिहासको सबैभन्दा कान्छा प्रशिक्षकमा नाम लेखाइसकेका छन्। यिनै कान्छा प्रशिक्षकको नेतृत्वमा सनसनीपूर्ण प्रदर्शन गरिरहेको होफेनहेइमले शनिबार शीर्ष टोली बायर्न म्युनिखलाई पराजित गर्ने उनले बताएका छन्।

फेब्रुअरीमा २८ वर्षको मात्र हुँदा होफेनहेइमले उनलाई प्रमुख प्रशिक्षकका रूपमा नियुक्त गर्दा धेरैले आँखीभांै उचालेका थिए, ओठ लेप्य्राएका थिए । जर्मनीका सञ्चारमाध्यमले पनि नागेल्सम्यानको नियुक्तिलाई पागलपनको हद भनेर ठट्टामा उडाएका थिए । त्यसो गर्नु स्वाभाविक पनि थियो । होफेनहेइमको मुख्य टोलीमा नियुक्ति पाउनुअघि मुख्य प्रशिक्षकमा उनको खास अनुभव थिएन । त्यसअघि होफेनहेइमको यु–१९ टोलीलाई जर्मन उमेर समूहको उपाधि जिताउनु मात्र उनको अनुभव थियो । त्यति बेला उनको आफ्ना खेलाडीसँग उमेर फरक १० वर्षको पनि थिएन ।

तर मुटुको समस्याका कारण तत्कालीन प्रशिक्षक हब स्टेभन्सले अचानक छोडेपछि होफेनहेइमसामु धेरै विकल्प थिएन । पुछारबाट दोस्रो (१७) औं स्थानमा रहेको टोलीलाई नेतृत्व प्रदान गर्न नागेल्सम्यानलाई चयन गरियो । नागेल्सम्यानले शीर्ष डिभिजनको पहिलो खेलमा वेर्डेर ब्रेम्यानसँग १–१ को बराबरी नतिजा निकाल्दै टोलीलाई एक अंक दिलाए । उनकै नेतृत्वमा टोली गत सिजन शीर्ष डिभिजनको हैसियत जोगाउन सफल भयो ।

यसपालि होफेनहेइमको छवि गत वर्ष जस्तो ह्विपिङ ब्वाइजको छैन । जारी सिजनका ९ लिग खेलमा अपराजित रहन सफल टोली अंकतालिकाको तेस्रो स्थानमा रहेर उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको छ । टोली शीर्ष स्थानको बायर्न म्युनिखभन्दा ४ अंकले मात्र पछि छ । त्यसैले अब युरोपका शीर्ष डिभिजन क्लबमध्ये सबैभन्दा कान्छा प्रशिक्षक नागेल्सम्यान १६ पटकको असफल प्रयासपछि बायर्नमाथि म्युनिखको एलियान्ज एरिनामा होफेनहेइमलाई पहिलो जित दिलाउनेमा विश्वस्त भएका छन् ।

‘उनीहरू जर्मन बुन्डेसलिगाको सबैभन्दा उत्कृष्ट टिम हुन् । तर हामी उनीहरूविरुद्ध सफल हुनेछौं,’ नागेल्सम्यानले भने, ‘जर्मनीको सर्वोत्कृष्ट टिमविरुद्धको खेलका लागि तयारी त्यही अनुरुप गरिएको छ । जर्मनीमा फुटबल जानकारहरूले बायर्नविरुद्धको खेलमा हामीबाट धेरै आश गरेका हुने छैनन् । जुन हाम्रा लागि मानसिक रूपमा फाइदाजनक हुनेछ । हामी त्यहाँ आत्मसमर्पण गर्न जाने छैनौं र स्कोरबोर्डतिर आँखा लगाएर धेरै दबाबमा खेल्ने पनि छैनौं । हामी दबाबरहित भएर जितका लागि मैदान उत्रिनेछौं र त्यसमा सफल हुने मेरो विश्वास हो ।’

छोटो खेलजीवनमा रक्षकको भूमिकामा देखिएका नागेल्सम्यान साइडलाइनमा निकै प्रभावशाली र सबथोक आफ्नो नियन्त्रणमा राख्न चाहने प्रशिक्षक हुन् । बायर लेभरकुसनका ४९ वर्षे प्रशिक्षक रोजर स्मिड्टले होफेनहेइम ३–० ले विजयी हुँदा दुई साताअघि नागेल्सम्यानको आलोचना गरेका थिए । तर अन्तमा युवा प्रशिक्षकले शीर ठाडो पारेर फर्किँदा पाकाले चाहिँ टाउको निहुराउनुपरेको थियो ।

खेलदौरान नागेल्सम्यानप्रति क्रुद्द बनेका स्मिड्टले ‘तिमी कस्तो खालका नालायक हौं ? के तिमीले फुटबल आविष्कार गरेका हौं ?’ भनेको माइक्रोफोनमा रेकर्ड भएको थियो । जसका कारण स्मिड्टले दुई खेलको प्रतिबन्ध सहनुपरेको थियो ।

फुटबल आविष्कार प्राचीन कालमै भए पनि नागेल्सम्यानले होफेनहेइमका लागि जित्ने सूत्र भने आविष्कार गरेका छन् । जोखिम मोल्न उनी डराउँदैनन् । अघिल्लो आइतबार हर्था बर्लिनविरुद्धको खेलमा १–० ले अग्रता लिइरहेका बेला समय सकिन पाँच मिनेट मात्र बाँकी थियो । नागेल्सम्यानले त्यो साँघुरो अग्रता जोगाएर ३ अंक लिने सहज उपाय रोजेनन् । बरु उनले अग्रता दोब्बर पार्ने रणनीतिस्वरुप तीन स्ट्राइकर खेलाएर आक्रमण अझ तीव्र बनाए । त्यसका लागि उनले एक मिडफिल्डरको ठाउँमा स्ट्राइकर एडम स्जालाइलाई मैदान छिराए । नागेल्सम्यानले उठाएको जोखिम फलदायी पनि भयो । गोल थप्न नसके पनि अग्रता जोगाउन टोलीले धेरै संघर्ष गर्नुपरेन । होफेनहेइम १–० को जितसाथ हर्थालाई पछि छोड्दै लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लियो ।

औसबर्गको दोस्रो टोलीका लागि खेल्ने क्रममा २००८ मा घुँडामा गम्भीर चोट लागेपछि २० वर्षको उमेरमै नागेल्सम्यानको खेलाडी जीवनमा पूर्णविराम लागेको थियो । औसबर्गको जुनियर टोलीका तत्कालीन प्रशिक्षक थोमस टचेललाई नागेल्सम्यानको क्षमता राम्ररी थाहा थियो । त्यसैले बोरुसिया डर्टमन्डका वर्तमान प्रशिक्षक टचेलले युवा टोलीको सहायक प्रशिक्षक बनाउनुअघि उनलाई विपक्षी टोलीका खेलाडी स्काउटिङ गर्ने जिम्मेवारी दिए ।

‘म टचेलप्रति निकै आभारी छु । मलाई प्रशिक्षक बन्ने बाटोमा उनैले डो¥याएका हुन् । मैले सोच्दै नसोचेको काममा उनले मेरो क्षमता देखेर अभिभावकत्व प्रदान गर्दै आजको अवस्थामा ल्याउने उनै हुन् । उनी मेरा पिता होइनन्, तर करिअरमा मेरा मेन्टर हुन् । जसको गुण मैले कहिल्यै तिर्न सक्दिनँ,’ नागेल्सम्यानले भने ।

१८६० म्युनिखको युवा टोली तथा होफेनहेइममा मात्र प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका नागेल्सम्यानले १०१३–१४ सिजनमा होफेनहेइमको यु–१९ टोलीलाई जर्मन च्याम्पियनसिपको उपाधि जिताएका थिए । त्यसको अर्को वर्ष होफेनहेइमको युवा टोलीलाई च्याम्पियनसिपको फाइनल पु¥याएपछि उनी बायर्न म्युनिखको रोजाइमा परेका थिए ।

बायर्नले आफ्ना जुनियर टिममध्ये एकमा प्रशिक्षकका रूपमा काम गर्न प्रस्ताव गरे पनि नागेल्सम्यानले होफेनहेइममै निरन्तरता दिने निर्णय लिएका थिए । सफलताको भोको बायर्न जानुभन्दा होफेनहेइमबाटै थप निखारिने उनको चाहना थियो।

जर्मन फुटबलमा होफेनहेइमलाई अनपेक्षित सफलता दिलाइरहँदा अहिले नागेल्सम्यानको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होसँग तुलना हुन थालेको छ । माउरिन्होलाई २९ वर्षको उमेरमा इङ्ल्यान्डका पूर्व प्रशिक्षक बबी रब्सनले स्पोर्टिङ लिस्बनमा आफ्नो प्रशिक्षण टोलीमा काम गर्ने मौका दिएका थिए । त्यसैले अहिले जर्मनीमा नागेल्सम्यानलाई पनि ‘मिनी माउरिन्हो’ भन्न थालिएको छ ।

बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेका नागेल्सम्यानले जर्मन फुटबल संघ (डिएफबी) बाट प्रशिक्षण इजाजत पत्र लिनुअघि खेलकुद विज्ञानमा स्नातकोत्तर गरेका थिए । डिएफबीबाट प्रशिक्षक लाइसेन्स लिँदा पनि उनले सर्वाधिक अंक ल्याएका थिए । जारी सिजनमा होफेनहेइमबाट उनले आफ्नो क्षमता व्यावहारिक रूपमा पनि प्रमाणित गरिरहेका छन् ।

जारी सिजनमा केभिन भोलान्डले उनको टोली छोडेर लेभरकुसनको बाटो तताएका थिए । तर होफेनहेइमले डार्मस्टाड्टबाट गोल स्कोररका रूपमा आफूलाई प्रमाणित गरिसकेका सान्ड्रो वेंगर र मिहिनेती मिडफिल्डर केरिम डेमिर्बेलाई डुइसेलडर्फबाट भिœयाएको थियो । नागेल्सम्यान पछिल्लो समय योर्गान क्लोपले प्रयोग गर्ने गरेको गेगेनप्रेसिङ रणनीति (बल विपक्षीको पोसेसनमा रहँदा चरम दबाब सिर्जना गरेर खोस्ने) अख्तियार गर्ने युवा पुस्ताका जर्मन प्रशिक्षकमध्ये एक हुन् ।

यही गेगेनप्रेसिङ रणनीतिबाट पछिल्ला खेलहरूमा होफेनहेइमले सफलता प्राप्त गरे पनि स्टार मिडफिल्डरहरूले भरिपूर्ण बायर्नसँग सहज पक्कै हुने छैन । तथापि होफेनहेइमका समर्थकले यसपालि नागेल्सम्यानको नेतृत्वमा आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सपना देखेका छन् । जुन २००८/०९ को सिजनमा जसरी नतुहिने पनि उनीहरूको अपेक्षा छ । आठ वर्षअघि आधा सिजन अंकतालिकाको शीर्ष स्थानमा रहे पनि बाँकी आधा सिजन त्यही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा टोलीले सातौं स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो।

प्रशिक्षकका रूपमा परिपक्वता हासिल गर्ने नागेल्सम्यानको तीव्र गतिका कारण होफेनहेइमले २०१९ मा सम्झौता सकिएपछि उनीसँग नवीकरण नगर्ने क्लबका मालिक डाइटमार होपले बताएका छन् । ‘अहिलेसम्म उनको काम हेर्दा उनीसँग प्रशिक्षकको विश्वकै उत्कृष्ट हुने गुण छन् । एउटा यस्तो समय आउँछ, जब उनका लागि होफेनहेइम निकै सानो साबित हुनेछ,’ ७६ वर्षे क्लब मालिकले भने।