Top Headlines:

मीरा राई नेसनल ज्योग्राफिकको 'साहसी व्यक्ति' सूचीमा

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को मनोयनमा परेकी छन्।

नेसनल ज्योग्राफिकले राईसहित मनोनयनमा परेका दस जनाको नाम शुक्रबार सार्वजनिक गरेको हो। बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ। छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिन्छ। सर्वाधिक भोट ल्याउनेलाई वर्षको साहसिक व्यक्ति घोषणा गरिनेछ।

यसमा भोट हाल्ने म्याद डिसेम्बर १६ सम्म छ। विजयीको घोषणा सन् २०१७ जनवरीमा गरिनेछ।

भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु बनेकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन्।

मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।

अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ। खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा छ। विश्व एथ्लेटिक महासंघले सम्बन्धित देशको एथ्लेटिक संघले नै अल्ट्रा म्याराथन व्यवस्थापन गर्नुपर्ने भने पनि नेपालमा हालसम्म यसतर्फ काम भएको छैन।

विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्। उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्।

त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन्।

मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो। गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिकले लिएको अन्तर्वार्तामा भनेकी छन्, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन। पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं।’

यसैबीच १४ वर्षको उमेरमा उनी माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन्। सेना समायोजन क्रममा अयोग्य भएपछि बल्ल उनको खेल जीवन सुरु भएको थियो।