Top Headlines:

मुखर्जीलाई काठमाडौंको साँचो हस्तान्तरण

नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नगरवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको छ।  बिहीबार साँझ राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहमा महानगरपालिकाले मुखर्जीलाई अभिनन्दन गरेको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिकका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले भारतीय राष्ट्रपति मुखर्जीलाई साँचो हस्तान्तरण गरे। विशिष्ट पाहुनालाई भ्रमणमा आएको बेला नगरवासीले स्वागतस्वरुप साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको छ। रोमनकालदेखि चलेको यो क्रम हाल पनि युरोप र अमेरिकामा प्रचलनमा छ।

नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपति मुखर्जीले काठमाडौं शहर राजनीतिको मात्रै केन्द्र नभई अध्यात्मको पनि केन्द्र भएको बताए। उनले आफ्नो भ्रमण तीर्थयात्रा समेत भएको बताउँदै काठमाडौं सास्कृतिक तथा धार्मिक रुपले पनि महत्वपुर्ण भएको बताए।

मुखर्जीले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे।  उनले दुई देशबीचको सम्बन्धलाई अझै राम्रो बनाउन आफूले प्रयास गर्ने बताए।

नागरिक अभिनन्दन समारोहमा बोल्दै काठमाडौं महानगरपालिका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भारतीय राष्ट्रपति मुखर्जीको यो भ्रमणले नेपाल र भारतबीचको मित्रता अझै विकसित र सुदृढ हुने बताए। मुखर्जीलाई काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तामाङले साँचोका साथै अभिनन्दन पत्र प्रदान गरेका थिए।