Top Headlines:

पुरा भयो धुर्मुस–सुन्तलीको गिरानचौर बस्ती, १२ गते हस्तान्तरण गरिने पक्का

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले विगत ६ महिनादेखि सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरिरहेको दोस्रो एकिकृत बस्तीको निर्माण कार्य पुरा भएको छ। धुर्मुसको भनाइमा कात्तिक १२ गते काग तिहारका दिन बस्ती हस्तान्तरण गरिनेछ।
 
भुइँचालो गएको एक वर्ष पुगेको दिन शिलान्यास भइ दशैंको घटस्थापनाका दिन हस्तान्तरण गर्ने योजनाअनुरुप असारदेखि नियमित काम थालिएको थियो तर अवधारणाअनुरुप बस्ती तयार नहुँदा हस्तान्तरण पर धकेलिएको थियो। 
 
‘वर्षाका कारण बिभिन्न अप्ठ्यारो आइपर्दा हामीले तोकेको समयमा बस्ती हस्तान्तरण गर्न सकेका थिएनौं,’ धुर्मुसले सेतोपाटीसँग भने, ‘दशैंमा पनि काम रोकनौं। अहिले बस्ती भित्रका बाटो ग्राभेल गरिरहेका छौं र बाल बगैंचाको काम अलिकति बाँकी छ। त्यो भोलिपर्सीमै सकिन्छ।’
 
बस्ती आफूले पहिले सोचेअनुसारको बनेको भन्दै धुर्मुसले खुसी साटे र सहयोग गर्ने सबैलाई धन्यवाद दिए। 
पहिलेका सबै दुःख गायब भएका छन् किनकी हाम्रो दिमागमा पहिले बस्तीको जस्तो चित्र थियो ठ्याक्कै त्यो तयार भएको छ। यहाँका वासिन्दाको मुहारमा देखिएको खुसीको बयान गर्न सक्दिन। हामी चाहन्छौं हरेक नेपालीले यो बस्ती हेरुन्। त्यसैले सकेसम्म हस्तान्तरणका दिन गिरानचौर आउन अनुरोध गर्दछु।’ 
 
तामाङ जाति बाहुल्य उक्त बस्ती ६५ परिवारलाई हस्तान्तरण गरिनेछ। भूकम्पप्रतिरोधि घर, बालमैत्री तथा अपांगमैत्री, पहिरो निरोधक लगायत अवधारणामा तयार पारिएको बस्ती निर्माण गर्न करिब पाँच करोड रुपैयाँ लगानी लागेको धुर्मुसको भनाइ छ।