Top Headlines:

पहिलो महिला सगरमाथा आरोही जुन्को तावेईको निधन

पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ।

जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ। जापानी टेलिभिजन एनएचकेले पनि तावेईको निधन भएको खबर लेखेको छ। तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो।

जापानको फुकुसिमामा जन्मेकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बनेकी थिईन्।

तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले जानकारी दिए।

नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेलेकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उनले बताए।

“आरोहणको क्षेत्रमा तावेईले धेरै राम्रो काम गर्नुभएको छ, वातावरण संरक्षण र पर्वतारोहणमा पनि उहाँको योगदान छ, नेपालले असल मित्र गुमाएको छ, यसले हामीलाई दुःखित तुल्याएको छ” – अध्यक्ष शेर्पाले भने।

जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकी थिईन् । रासस