Top Headlines:

गुरुङलाई नचाउँदै शेर्पा

कोही रहर पुरा गर्न त कोही देखासिकी कै भरमा समेत म्यूजिक भिडियो निर्देशनमा हात हाल्नेको कमी छैन नेपाली संगीत क्षेत्रमा । तर पत्रकार ल्हाक्पा शेर्पा भने कथाले मागे पछि म्यूजिक भिडियो निर्देशक बनेका छन् । हालसालैको कुनै एक दिन राजधानीको एक रेष्टुरेन्टको एउटा कुनाको टेबलमा बसेर पत्रकार शेर्पा गायक आङगेलु सहितको समूहलाई टेलिभिजन पत्रकारिता, क्यामेरा र दृश्यको बारेमा आफुले जाने बुझेको अनुभव सुनाउँदै थिए । शेर्पाकै अघिल्तिरको कुर्सीमा अडेस लागेर चुस्की लिइरहेका गायक आङगेलुलाई शेर्पाको क्यामेरा र भिज्योल महिमा निकै घत लाग्यो ।  आफ्नो गीतको भिडियो निर्माणका लागि निर्देशकको खोजीमा रहेका उनले तुरुन्तै दायाँबायाँ नसोची आफ्नो गीतको भिडियो निर्देशनको जिम्मा पत्रकार शेर्पालाई दिए । साँझको जमघटमा रमाइरहेकाहरु एकै स्वरमा चिच्याए–‘ल कथाले ल्हाक्पा शेर्पालाई निर्देशकको रुपमा माग्यो ।’

पत्रकारिता बाहेक बेला बेलामा वृत्तचित्र र विज्ञापन निर्देशन समेत गर्दै आएका शेर्पा यस्तो प्रस्तावबाट पछि हट्ने कुरै थिएन । आङगेलुको प्रस्तावलाई स्वीकार्दै उनले आफ्नो निर्देशकीय यात्रालाई म्यूजिक भिडियोतर्फ पनि मोडेका छन् । मंगलबार काठमाडौँको हायत होटलस्थित फ्लेभर क्याफेमा शेर्पाले आफ्नो पहिलो म्यूजिक भिडियोको करिब ४० प्रतिशत छायांकन सकाएका छन् । बाँकी छायांकनका लागि शेर्पा सहितको टोली हेलिकोप्टर चार्टर गरेर सोलुखुम्बुको कोङ्दे रिसोर्ट जाँदैछ । ४२५० मीटरको उचाईमा रहेको कोङदे रिसोर्टबाट सगरमाथा, ल्होत्से, नुम्से, आमादब्लम, पुमोरी लगायतका उच्च हिमालका मनोरम दृश्य देखिने भएकाले त्यो सुन्दर दृश्यलाई समेट्नका लागि उक्त लोकेसन छनौट गरेको निर्देशक शेर्पाले जानकारी दिए ।

राजनराज शिवाकोटीको संगीत र रोज मोक्तानको शव्द रहेको ‘घर मेरो सोलु’ बोलको गीतको भिडियोमा गायक आङगेलु आफैले अभिनय गरेका छन् । आङगेलुसँगै गोर्खापल्टनकी अभिनेत्री रञ्जिता गुरुङको अभिनय पनि भिडियोमा देख्न सकिनेछ । नविक के. श्रेष्ठको छायांकन रहेको भिडियो चाँडै नै सार्वजनिक गरिने निर्देशक शेर्पाले बताए ।