Top Headlines:

लामो प्रयासपछि लोकमानको घरमा सर्वोच्चले म्याद टाँस्यो तामेलदार खत्रीलाई कारबाही

 सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेल टाँस्न सफल भएको छ । टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउँसो कार्कीको घरमा म्याद तामेल गरेको हो ।

म्याद तामेल गर्न खटिएका तामेल शाखा प्रमुख हिरण्यराज भण्डारी र तामेलदार महेश ढकालसहितको टोलीले कार्कीको घरमा म्याद बुझाएको प्रतिवेन सर्वोच्च प्रशासन बुझाएको छ । म्याद तामेल भएपछि कार्कीको मुद्दा पेशी चढाउनका लागि योग्य भएको छ । म्यादमा कार्कीलाई १५ दिनभित्र अदालत उपस्थित हुन आदेश गरिएको छ ।

कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गर्न योग्यता नपुगेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट सर्वोच्चले ब्युत्याएपछि कार्कीलाई अदालत उपस्थित हुन आदेश गरिएको हो । २०७१ असोज ८ गते खारेज गरेको योग्यतासम्बन्धि रिट सर्वोच्चले गएको भदौ ३१ गते पुनरावलोकन गर्ने अनुमति दिएको थियो ।

यस्तै, अघिल्लोपटक म्याद तामेल गर्न खटिए पनि काम पूरा गर्न नसकेको भन्दै तामेलदार शम्भु खत्रीलाई सर्वोच्चले कारबाही गरिने भएको छ । दुईपटक कार्कीको घरमा म्याद टाँस्न गए पनि खत्री मुचुल्कासमेत नउठाइ फर्किपछि सर्वोच्चले खत्रीलाई कारबाहीको तयारी गरिएको हो ।

प्रशासनको निर्देशनअनुसार समयमा म्याद नबुझाउने कर्मचारीलाई १५ दिन कैद वा एक हजार जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ ।