Top Headlines:

ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा भाग लिन प्रधानमन्त्री दाहाल गोवा प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

शनिबारदेखि सुरु हुने दुईदिने उक्तसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिदाइ गरेका थिए।
प्रधानमन्त्री दाहालको बिदाइका लागि मन्त्रिहरु, नेकपा (माओवादी केन्द्र)का नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र,सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री दाहाल सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत सहभागी हुनेछन्। सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो ।

दक्षिण एसियाबाट नेपाल, भारत, भुटान र श्रीलङ्का उक्त सम्मेलनमा सहभागी हुनेछन् । बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने एवम् जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ ।

ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेको अन्तर्राष्ट्रिय मञ्च हो भने बिमस्टेक दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकबीच साझा सरोकारका विषय छलफल गर्न खडा गरिएको समूह हो जसमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।