Top Headlines:

२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्ः परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डका भारत भ्रमणका क्रममा जारी भएको संयुक्त विज्ञप्तिको विरोध गर्नेहरुलाई नक्कली राष्ट्रवादीको संज्ञा दिएका छन् ।

एमालेसहितका दलले २५ बुँदे नेपालको हितमा नरहेको भनिरहेका बेला परराष्ट्रमन्त्री महतले भने राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केही नक्कली राष्ट्रवादको हल्ला फिजाएको बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा परराष्ट्रमन्त्री महतले भने, ‘आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद हो । यो त विरोधको नाममा विरोध मात्रै हो ।’

पहिला पहिला भारतीय चलचित्र चल्नपनि दिनुहुँदैन भन्ने बाबुरामले आफू प्रधानमन्त्री हुँदा कुरा बुझेर भारतसँग विप्पा सम्झौता गरेको उल्लेख गर्दै महतले भने, ‘हामी त समृद्धिको लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक छ र लगानी सुरक्षित गर्नुपर्छ भन्ने पक्षमा हामी त पहिलादेखि नै थियौं ।’

‘नेपाल र भारतवीच धेरै विषयमा समान धारणा छ, अनि यसबारेमा बोल्दा नराम्रो कुरा के भयो र ?’ सार्क लगायत क्षेत्रीय संगठनलाई मजबुत बनाउने कुरा गर्दा किन यहाँ यत्रो हल्लाखल्ला ?’ कांग्रेस नेता समेत रहेका महतले भने ।

चीनसँग पनि अन्तर्राष्ट्रिय विषयमा धेरै समान धारणा रहेको भन्दै परराष्ट्रमन्त्री महतले राष्ट्रियता र राष्ट्रिय स्वार्थको विषयमा कुनै कम्प्रोमाइज नगर्ने बताए ।  उनले अघि थपे, ‘सुरक्षा परिषदको स्थायी सदस्यमा भारतलाई समर्थन गर्छौ भन्दा के नौलो विषय हो र ?’

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भइसकेको भन्दै उनले चीनका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गरे । उनले भने, बि्रक्स सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा आएको छ, प्रधानमन्त्री र म त्यहाँ जान्छौं, त्यतिवेला चिनियाँ राष्ट्रपतिसँग पनि भेट हुन्छ ।’