Top Headlines:

Entertainment Page - सिपोरा गुरुङ

Entertainment Page

फिल्म ‘भुइँमान्छे’ खेल्ने पक्का भएपछि सिपोरा गुरुङलाई धेरैले ‘पहिलोपटक नेपाली फिल्ममा अनुबन्धित हुँदाको अनुभव कस्तो रह्यो’ भनेर सोधेछन्।

सिपोरालाई यस्तो प्रश्न फिटिक्कै चित्त बुझ्दैन।

यसअघि ‘घलेकः द साइन अफ लभ’ र ‘यम्फावतीः द प्रिन्सेस’ मा अभिनय गरिसकेकी सिपोराले उल्टै प्रतिप्रश्न गरिन्, ‘तपाईंहरूको प्रश्न नै गलत छ। म पहिलोपटक नेपाली फिल्ममा खेल्न लागेको होइन, यसअघिका दुइटै फिल्म नेपाली हुन्। काठमाडौंमा बनेको फिल्मलाई मात्र किन नेपाली भनिन्छ? पोखराबाट खेल्ने खेलाडी राष्ट्रिय हुने, पोखराबाट बन्ने फिल्मचाहिँ किन नहुने? हामी आफैं स्पष्ट बोल्न हिचकिचाइरहेका छौं।’

अनामनगरमा आयोजित भुइँमान्छेको औपचारिक घोषणा कार्यक्रममा उनलाई कतिले ‘गुरुङ भाषाको फिल्मकी नायिका’ समेत भनेछन्। त्यस्तो सुन्दा उनी झनै मुर्मुरिएकी थिइन् रे।

हँसिली, फरासिली सिपोरालाई त्यतिबेला ‘प्याच्च केही भन्दिहालौं’ जस्तो पनि भएछ। तै, आफूलाई सम्हालिन्। हाँसीहाँसी गफिइन्।

‘मलाई फिल्मक्षेत्रमा के आन्दोलन चलिरहेको छ थाहा छैन,’ यी भलिबल हिरोइनले सेतोपाटीसँग भनिन्, ‘जहाँबाट बने पनि, जुन भाषामा बने पनि नेपालमा बनेका फिल्मलाई नेपाली फिल्म भनिनुपर्छ। र, भुइँमान्छे मेरो तेस्रो नेपाली फिल्म हो, पहिलो होइन।’

कुरा के भने, अघिल्ला दुई फिल्म पोखराबाट बनेका थिए। घलेक गुरुङ भाषी क्षेत्रमा छायांकन गरिएको र यम्फावती लोप भइसकेको आदिवासी भाषा ‘चोँकी’मा बनेको आधारमा भुइँमान्छेलाई सिपोराको पहिलो फिल्म भनिएको थियो।

खेल र अभिनय।

यी दुवै फरक विधाका ‘पर्फमेन्स’ भए पनि केलाउँदै जाँदा धेरै समानता भेटिन्छन्। जस्तोः सीप, शक्ति अर्थात् खेल या सुटिङ अवधिभर टिकिरहनुपर्ने शारीरिक क्षमता र गर्ने वा जित्ने मनोविज्ञान।

सिपोराको हकमा मात्र नभई समग्र खेलाडी र अभिनेताको हकमा सीप, शक्ति र मनोविज्ञान अन्तरसम्बन्धित छन्।

१४ वर्षको उमेरदेखि करिब ६ वर्षसम्म राष्ट्रिय टोलीबाट भलिबल खेलेकी सिपोरालाई फिल्मसम्म आइपुग्न यी कुराले सबैभन्दा बढी अर्थ राख्छन्। र, सँगसँगै बलिउड तथा नेपाली मूलधारको फिल्ममा मानिँदै आएको चिटिक्क मिलेको शरीर र सुन्दर अनुहारले पनि माने राख्छ।

फिल्म अभिनयका लागि कुनै पनि अभ्यास नगरेकी सिपोरा पहिलो फिल्म ‘घलेकः द साइन अफ लभ’ मा छानिनुको मुख्य कारण सीप र आत्मविश्वास नै थियो। अर्थात्, भलिबल खेल्न जान्ने कला। यस्तो सीपका लागि शारीरिक तथा मानसिक रूपले क्षमतावान हुनुपर्ने मान्यता छ।

‘खेलका लागि चाहिने महत्वपूर्ण कुरा मनोविज्ञानपछि इनर्जी नै हो,’ सिपोरा भन्छिन्, ‘यो इनर्जी मेरो बाबाको देन हो। मलाई बच्चा बेला भाँडाकुँडी, गट्टा खेल्नेजस्ता खेलको अनुभवै छैन। नेपाली सेनाबाट रिटायर्ड मेरा बाबाले सानैदेखि फिजिकल एक्सरसाइजमा हुर्काउनुभयो। कहिले दौडन लगाउने, कहिले ब्याडमिन्टन खेल्न लगाउने। स्कुल पढ्न थालेपछि भलिबल खेलेँ। भलिबल मात्र होइन, म एग्थ्लेटिक्सको पनि खेलाडी थिएँ। यसै कारण इनर्जी मात्र होइन बडी पनि फिट रह्यो भन्ने लाग्छ। जुन अहिले फिल्ममा पनि काम लागेको छ।’

मनोविज्ञानको कुरा कोट्याउनेबित्तिकै उनी अघिभन्दा प्रफुल्ल देखिइन्। कुर्सीमा बसिरहेकी तनक्क तन्किइन्। ढाड सिधा पारिन्। सर्टको कलर मिलाइन्।

कारण रहेछ, मिस नेपालमा भाग लिँदा जितेको मिस ट्यालेन्टको उपाधि त उनले डान्स देखाएर जितेकी रहिछन्। फिल्ममा अभिनय गर्दा चाहिएको शक्ति उनलाई खेलले दिएको थियो, आत्मविश्वासको मनोविज्ञान भने स्कुल पढ्दादेखि नै सञ्चित रहेछ। जुन स्कुलमा हुने नाटक र नृत्यले दिएको थियो।

यसो भन्नेबित्तिकै उनलाई बालापन र स्कुल बेलाको याद आएछ, सायद।

‘मलाई सबैतिर भ्याउनुपर्ने,’ बालापनको कुरा सम्झिएर खुसी हुँदै उनले सुनाइन्, ‘हार्मोनियम, पियानो सबै बजाउन मन लाग्ने। स्कुल छँदा नाटक र डान्समा चाहिँ खुबै भाग लिएँ। पछि, मिस नेपालमा काम लाग्यो। तर त्यतिबेला मैले फिल्म, विज्ञापन खेलौंला भनेर कल्पनासम्म गरेको थिइनँ।’

चार वर्षअघि, भलिबल खेल्ने क्रममा घाइते भएपछि सिपोरालाई चिकित्सकले करिब एक वर्ष भलिबलको कठोर अभ्यास नगर्न सुझाएका थिए। आराम गर्दै र उच्च शिक्षा पढ्न थालेकी सिपोरालाई यसैबेला फिल्मको ‘अफर’ आयो।

उनकी आमालाई कोही चिनजानले सोधेछन्, ‘छोरीले फिल्म खेल्लिन्?’

आमाले भनिछन्, ‘एकपटक उसैलाई सोध्नुपर्छ।’

आमाले फिल्मको कथा र बनाउन लागेका व्यक्तिबारे सोधपुछ गरिन्। आमालाई चित्त बुझेपछि छोरीलाई सोधिन्, ‘फिल्म खेल्छेस्? राम्रा मान्छेले बनाउन लागेका छन्। एकपटक बुझिहेर् त।’

भलिबलमा राम्रै खेलाडीमा दरिने सिपोरालाई धेरैले ‘सुन्दरी छ्यौ’ भन्थे। मख्ख पर्थिन्। पत्रपत्रिकामा उनी ‘भलिबल सुन्दरी सिपोरा’जस्ता शीर्षकमा अटाइसकेकी थिइन्। टेलिभिजनमा अन्तरवार्ता दिँदा–दिँदा क्यामरा अगाडि बोल्ने आत्मविश्वास बढिसकेको थियो।

पोखराबाट नेपाली तथा गुरुङ भाषामा बन्ने केही फिल्मका लागि त्यसअघि नै अफर पनि आइसकेका थिए रे! पार्टी, समारोहतिर भेटिँदा फिल्मका निर्माता÷निर्देशक सोध्ने गर्थे, ‘हिरोइन बन्छ्यौ, के छ विचार?’

तर, उनले त्यति गम्भीर तरिकाले लिएकी रहिनछन्।

आमाले भनेकाले उनलाई बढी विश्वास भयो। केही दिनपछि उनले फिल्मका निर्देशकसँग भेटिन्। कथा कस्तो हो, बुझिन्।

१६ औं जन्मदिन मनाउन आफ्नो पुर्खाको थलो आइपुगेकी एक बर्मेली युवतीको कथा थियो। गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङको सिक्लेसमा छायांकन हुने थाहा पाएपछि उनी थप उत्साहित भइन्।

‘केही काम नपरी त आफ्नो पुर्खाको थलो जीवनभर पुग्दैनथेँ होला,’ सिपोराले भनिन्, ‘फिल्म खेल्दा मात्र त्यो ठाउँ पुग्न पाएँ।’

पुर्खाका थलोबाहेक अझ अर्को कुरा, मुख्य भूमिका, एक्सन दृश्य र त्यो पात्र भलिबल खेलाडीसमेत रहेकाले सिपोराले त्यसलाई राम्रै मौका ठानिन्।

‘हिरोइनलाई हिरोको वरिपरी नचाउने खाले रोल भए गर्दिनथेँ हुँला,’ फिल्म खेल्नुको उद्देश्यबारे उनले प्रस्ट्याइन्, ‘चर्चा र पैसाका लागि मलाई फिल्म खेल्नु थिएन। त्यति कुरा त मलाई भलिबलले नै दिएको थियो। मलाई अलि चुनौतिपूर्ण रोल नै गर्नु थियो।’

त्यसपछि उनले मनमनै पक्का गरिन्, फिल्म खेल्छु। अनि पारिश्रमिक सोधिन्।

निर्देशकले उल्टै सोधेछन्, ‘तपाईंको माग कति हो?’

चल्तीका फिल्मका कलाकारले कति लिन्छन् केही जानकारी नपाएकी सिपोराले फ्याट्टै भनिन्, ‘दुई लाख।’

यति मात्र होइन, पछि उनले विदेशमा रिलिज गराउँदा उठेको रकमको केही हिस्सा पनि दाबी गरिन्।

निर्माता उनको मागमा राजी भए। सुटिङ सुरु भयो।

‘मलाई त त्यतिबेला अभिनय गरेजस्तै फिल भएन,’ उनले पहिलो फिल्मको अनुभव सुनाइन्, ‘भलिबल खेल्ने भएकाले सबै मैले आफैंले गरिरहेजस्तो भयो।’

सुटिङ अवधिभर सहज लागे पनि उनलाई फिल्म हेरेपछि भने मन परेनछ। प्रिमियर हुँदा भन्नलाई त सबैले राम्रै भनेका थिए तर पनि, उनलाई दर्शकको प्रतिक्रिया बुझ्नु थियो।

उनलाई डर थियो, खेलका फ्यान अलि बढी नै संवेदनशील हुन्छन्। चित्त बुझेन भने जे पनि भनिदिन सक्छन्।

उनी फिल्म रिलिज भइरहँदा पोखराको एउटा हलमा सलले मुख छोपेर कसैले नचिन्ने गरी गइन्। पर्दामा उनको आगमन हुँदा होस् या चोटिलो डायलग बोल्दा दर्शक सिट्ठी फुक्थे। ताली बजाउँथे।

सबै दर्शक घोरिएर पर्दातिर हेरिरहँदा उनको ध्यान भने दर्शकको अनुहारतिर हुन्थ्यो। सबैले वाहवाही गरेको चाल पाएपछि ढुक्क भइन्, ‘यति भएपछि फ्यानले अब केही नभन्लान्।’

यसै फिल्मले उनलाई अनायासै फिल्म, मोडलिङको दुनियाँतिर धकेलिदियो।

सन् २०१३ मा पहिलोपटक आयोजकले मिस नेपालको अडिसन राजधानीबाहिरका सहरमा पनि खुलाएको थियो। कलेजमा एकपटक पूर्व मिस नेपाल माल्भिका सुब्बा पुग्दा भनेकी रहिछन्, ‘मिस नेपालमा भाग लेऊ, तिमीमा क्यापासिटी छ।’

अरू साथीहरूले पनि उक्साएछन्।

त्यतिबेलासम्म त उनले स्कर्ट पनि लगाएकी थिइनन् रे। खेलका लागि भने उनी स्टाइलिस हुन मन पराउँथिन्। संसारका चर्चित खेलाडीहरूले खेल र बाहिरी जीवनमा कस्ता लुगा लगाउँछन् र त्यसले खेलमा कस्तो प्रभाव पार्छ भन्नेबारे उनको चासो रहिरहन्थ्यो। खेलाडीको आत्मविश्वासमा उसले लगाएको कपडाले पनि ठूलो अर्थ राख्ने उनको भनाइ छ।

यति हुँदाहुँदै उनलाई फेसनका विविधताबारे भने जानकारी थिएन। कुनै सुन्दरी प्रतियोगिता देखेकी पनि थिइनन्। लहैलहैमा मिस नेपालमा भाग लिइन्। मिस ट्यालेन्ट टाइटल जितिन्। थर्ड रनरअप भइन्।

मिस नेपालमा भाग लिइरहँदा उनको मनमा के–के चलेका थिए त?

‘जित्नुपर्छ या जित्छु भन्ने त सबैलाई भइ नै हाल्छ, मलाई पनि थियो,’ उनले अनुभव साटिन्, ‘नजिते पनि केही छैन भन्ने पनि थियो। मिस नेपालको ट्रेनिङबाट मैले थुप्रै कुरा सिकेकी थिएँ। फेरि अर्कातिर, जित्छु भन्ने आत्मविश्वास पनि थियो। र, मलाई सबैभन्दा ठूलो डर जीत र हार दुवैको थियो। जितेँ भने भलिबल करिअरमा अप्ठ्यारो पर्छ भन्ने डर। किनभने म भलिबललाई नै बढी प्रेम गर्थें। हारेँ भने अरूले के भन्लान् भन्ने डर पनि उत्तिकै।’

अन्तिममा उनले मिस नेपाल टाइटल जितिनन्। भलिबल नै जु¥यो। ग्ल्यामरका बारेमा बुझिन्। थप आत्मविश्वास बढेको अनुभूति भयो।

यता फिल्मका अफर पनि आइरहेका थिए। तर, उनको सोच चानचुने रोल गर्नेतिर थिएन। समयक्रम चल्दै जाँदा उनलाई यस्तो मौका मिल्यो जहाँ उनको आत्मविश्वास, सीप र शक्ति पर्याप्त रूपमा चल्न पाउँथ्यो।

बिजुली बत्ति, मोबाइल नेटवर्क नभएको, सडकबाट दुई दिन हिँड्नुपर्ने, मानवबस्ती पनि नभएको ठाउँमा गएर सुटिङ गर्नुपर्ने। लोप भइसकेको आदिवासी भाषा चोँकीमा बन्ने। ऐतिहासिक कथा। राजकुमारीको भूमिका। हिमाली भेग र अझ त्यसमाथि गुफामा बस्ने बेलाको कथा भएकाले पूरै ज्यान ढाक्ने कपडा लगाउन नपाइने। एक्सन दृश्य पनि दिनुपर्ने। यस्तो भूमिकाका लागि शारीरिक तथा मानसिक रूपले सबल अभिनेत्री खोज्दै जाँदा निर्माताले सिपोरालाई भेटेका रहेछन्।

फिल्मको नाम, ‘यम्फावतीः द प्रिन्सेस।’

फिल्मको नाम, भूमिका, कथा, भाषा, ठाउँका बारेमा सबै सुन्दा उनलाई आफूले खोजेजस्तै लाग्यो। एकदमै चुनौतिपूर्ण। उनले चुनौति स्वीकारिन्। जसका लागि उनले मार्सल आर्ट पनि सिकिन्।

दोस्रो फिल्ममा उनको ‘रेट’ यति बढ्यो, नेपाली मूलधारका कमै अभिनेताले मात्र त्यति पारिश्रमिक लिएका छन्। सिपोराको दाबीअनुसार फिल्मबाट उनले आठ लाख रुपैयाँ लिएकी छन्।

‘अझ साथीहरूसँग मैले १० लाख लिने कुरा गरेको थिएँ,’ सिपोराले सुनाइन्, ‘मेरो कुरा सुन्दा उनीहरूले जिब्रो टोक्दै ‘त्यति पैसामा त फिल्म नै बन्छ’ भनेपछि आठ लाख मागेँ।’

फिल्मको ट्रेलर हालसालै सार्वजनिक भएको छ। यता उनले अर्को फिल्म भुइँमान्छेको सुटिङ सकाइसकेकी छन्।

भुइँमान्छेको अनुभव भने रमाइलो रहेछ।

नचिनेको नम्बरबाट फोन आए नउठाउने उनको बानी पुरानै हो। गुगलसँग जोडिएको नम्बर भने उठाउँछिन्, जुन ‘ट्रु कलर आइडी’ नामक एपले देखाउँछ। यस्तैमा एकदिन रोहिणी नामबाट फोन आएछ। उनकी साथीकी आन्टीको नाम पनि रोहिणी। उनले फोन उठाउँदै भनिन्, ‘हजुर आन्टी।’

तर, फोनमा पुरुष आवाज सुनियो। उनी झुक्किएझैं मोबाइलको स्क्रिन हेर्न खोज्दै थिइन्, उताबाट पुरुष बोले, ‘सिपोराजी, म रोहिणी भट्टराई।’

अनि कुरा गर्न थालिन्। रोहिणी परेछन्, फिल्म निर्माता। कयौंपटक फोन गर्दा नउठ्ने हैरानीमा उनी पनि परेका रहेछन्।

यस्तै, भुइँमान्छेसँग जोडिएको अर्को रमाइलो किस्सा पनि छ।

सुटिङमा अभिनेता रमेश बुढाथोकीलाई फूलको थुंगाले हान्नुपर्ने दृश्य रहेछ। सिपोराले हानेको फूल बुढाथोकीको आँखामा बजारियो। बुढाथोकीको आँखा एक्कासि सुन्नियो। दुई दिन सुटिङ नै रोकियो। त्यसपछि उनको नामै ‘फूलनदेवी’ रहन गएछ।

‘भुइँमान्छे’बाट पारिश्रमिक कति लिनुभयो नि?

चार लाख पचास हजार लिएको गाइँगुइँ हल्ला चले पनि सिपोरा भने यसबारे केही नखुलाउने बताउँछिन्। यति भन्छिन्, ‘यसमा पनि मैले खोजेजस्तै चुनौतिपूर्ण थियो र थोरै समयमा काम भ्याइने भएपछि केही सम्झौता गरेर खेलेकी हुँ। चौथो फिल्मको कुरा भइरहेको छ, अर्को वर्ष सुटिङ सुरु हुन्छ। त्यस फिल्मबाट चाहिँ राम्रै डिमान्ड गरेकी छु। सम्भवतः त्यति रकम नेपालका अभिनेत्रीहरूले अहिलेसम्म लिएका छैनन् होला। त्यतिबेलाचाहिँ घोषणै गर्छु।’

यसरी महँगो पारिश्रमिक माग्दा देलान् त?