Top Headlines:

Kala Sanskritika Kura - सत्यमोहन जोशी संस्कृतिविद्

Kala Sanskritika Kura
रामलाल जोशीलाई मदन र लीलबहादुर क्षेत्रीलाई जगदम्बाश्री दिइएको समारोहमा ९८ वर्षीय सत्यमोहन जोशीकै उमेरका एक जना मात्र अर्का व्यक्ति थिए, राष्ट्रकवि माधव घिमिरे, जो लौरोको सहारामा थिए। 
 
८० कटेका अरू पनि लौरोकै सहारामा हिँड्ने बेला जोशी मात्र त्यस्ता व्यक्ति थिए, जसलाई यो उमेरसम्म कसैले डोर्‍याउनु परेको छैन। न त लौरो नै चाहिएको छ। बरु मदन पुरस्कार समारोहमा त उल्टै अरु कसैलाई डोर्‍याए।
 
नाति पुस्ताका मदन पुरस्कार विजेता रामलाल जोशीलाई दर्शकदीर्घातिरबाट इतिहासकार दिनेशराज पन्तले एकातिर र जोशीले अर्कोतिर समातेर पुरस्कार थमाउन ‘ओल्क्याएर’ स्टेजमा लगेका थिए। मदन पुरस्कारको भाषामा ओल्क्याउनु भनेको डोर्याउनु हो। यसरी नै, ६० वर्षअघि पहिलो मदन पुरस्कार पाउँदा गुठीका अध्यक्ष कमलमणि दीक्षितले जोशीलाई ओल्क्याएर रानी जगदम्बाको अगाडि पुर्याएका थिए। २०१३ सालमा मदन पुरस्कार गुठीले पुरस्कार बाँड्न सुरु गर्दा जोशीका अलावा बलराम जोशी र चित्तरन्जन नेपाली गरी तीन जनाले मदन पुरस्कार पाएका थिए।  
 
मदन पुरस्कारभन्दा झन्डै चालिस वर्ष जेठा सत्यमोहन जोशीको जीवनलाई ओल्क्याएर यत्तिका उमेरसम्म ल्याउने चिज भने अर्कै छ। जुन चिज उनको पहिलो कृति ‘हाम्रो लोकसंस्कृति’ भित्र छ।
 
त्यो हो, त्यही ७० वर्षअघि जागिरका सिलसिलामा लमजुङको एउटा गुरुङबस्ती पुग्दा टिपेको लोकभाका।
 
यी लोकभाकामध्ये कति त ती गाउँबाटै लोप भइसके होलान्! अब कि त त्यो किताब मदन पुरस्कार पुस्तकालायतिर भेटिन्छ। हैन भने, उनको मनमा ताजै छ। उनी अझै पनि ती गीत भाका हालेर गाउँछन्।
 
एउटा सानो अंश बखुम्बहालस्थित एक तले घरको ढोकाको दाहिनेतिर काठको सानो चाक्लोमा लेखिएको देखिन्छः
 
‘गाई पाल्यो रेलिमाई वनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई’
– सत्यमोहन जोशी
 
यो हो, जोशीको जीवन जिउने दर्शन। यसलाई उनी ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ भन्छन्। र, यत्तिका उमेरसम्म सन्तोषपूर्वक बाँच्न सिकाउने कला यिनै भाकाले दिएको विश्वास गर्छन्।
 
खुसीसाथ जीवन जिउने हो भने एउटा दर्शन चाहिन्छ भन्छन् जोशी। तर, त्यो दर्शन ठूला–ठूला ठेलीले दिन्छन् भन्ने उनलाई लाग्दैन। भोगाइले सिकाउने दर्शन नै उच्च कोटीको दर्शन मान्ने जोशीले यो दर्शन जीवन भोगाईकै क्रममा फेला पारेका थिए।
 
जोशीलाई लागेको उच्चकोटीको दर्शन अटाएको ‘हाम्रो लोकसंस्कृति’ उनको जीवनबाट हटाइदिने हो भने अहिलेको परिचयको आधार हराउँछ। किनकि, उनको अहिलेको परिचय यसै कृतिले बनाइदिएको मान्छन्। त्यसैले उनको जीवनवृत्त कृतिको कथा र कृतिको कथा जीवनवृत्तसँग जोडिन्छ।
 
...
  
विसं १९९५/९६ तिर भीमबहादुर पाँडेले कलकत्ताबाट वाणिज्य संकायमा स्नातकोत्तर सकेर आएका थिए। उनी सामान्य जनताका छोरा थिए। त्यतिबेला जुद्धशमशेर राणा प्रधानमन्त्री थिए। 
 
सिंहदरबार, प्रधानमन्त्री निवासअगाडि हरेक दिन जागिरका लागि चाकरीबाजको लाइन लाग्ने गथ्र्यो। प्रधानमन्त्री माथिल्लो तल्लामा। जागिर माग्ने भुइँतल्लामा। गद्दीमा बसेर प्रधानमन्त्री हुक्का तान्थे। चाकरीको हुलबाट एकैसाथ चर्को आवाज निस्कन्थ्यो, ‘दर्शन सरकार।’
 
‘सरकारको मान्छे’ले सबैलाई आ–आफ्ना इच्छा सुनाउन भन्थे। सबैले एक्यौटा इच्छा सुनाउँथे।
 
त्यस्तैमा एक दिन, भीमबहादुर पाँडेका बाबु चाकरीका लागि पुगेका थिए। सबै आ–आफ्नै सुरमा बोलिरहेको हुलमा बाबु पाँडे बोले, ‘सरकार मेरो छोराले कलकत्ताबाट एमकम गरेर आएको छ।’
हुलमा सुनिएको त्यो स्वर सरकारलाई अरु भन्दा भिन्न लागेछ क्यारे! र, उसको आवश्यकताअनुसारको पनि।
 
सरकारको मान्छे बोल्यो, ‘सरकार मेरो छोराले कलकत्ताबाट एमकम सकेर आएको छ।’
 
सरकारले प्रोफेसरको जागिर दिने उद्घोष गर्यो।
 
पाँडेले एक रुपैयाँ प्रधानमन्त्रीको पाउको सिधा पर्ने गरी तल भुइँमा राखे। खातावालले भीमबहादुर पाँडेको नाम ‘प्रोफेसर’ मा चढायो।
 
तर, पाँडेले पढेअनुसारको विषय पढाउने कलेज नै थिएन। उनी त्रिचन्द्र कलेज जान्थे, हाजिर गर्थे र दिनभर यत्तिकै डुल्थे। तर, यो खाली समय उनले यत्तिकै भने बिताएनछन्। काभ्रेको एकक्षेत्रको सामाजिक/आर्थिक अध्ययन गरेछन्। कुन ठाउँमा कति/कुन सुन्तला फल्छ, कुन ठाउँमा पहेँलो कपास फूल्छ, कुन ठाउँबाट कता सिँचाइ ल्याउन सकिन्छ, जुत्ताका लागि चाहिने छाला कसरी उत्पादन गर्न सकिन्छलगायत। र, रिपोर्ट बनाएर सरकारलाई पेश गरेछन्। सरकारलाई यो काम खुबै मन परेछ। हाजिर मात्र लगाएर तलब खाइरहेका पाँडेले आफूलाई यस्तै काम दिन पनि अनुरोध गरेछन्। सरकारले मन्जुरी पनि दिएछन्।
 
यसपछि गोरखापत्रमा आइए वा सो सरह पास गरेका पाँच जनाको आवेदन खुलाइयो। करिब दुई दर्जन आवेदकको त्यो भीडमा सत्यमोहन जोशी पनि थिए। र, छानिए पनि।
 
नाम थियो, ‘औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा।’ प्रमुख थिए, पाँडे। उद्देश्य थियो, बिभिन्न गाउँको सामाजिक/आर्थिक अवस्थाको अध्ययन गर्ने।
 
भीमबहादुर पाँडेले पाँचै जनालाई यसैसम्बन्धि तालिम दिए। र, विसं २००० सालमा पाँचमध्ये दुईलाई गोरखा र बाँकी तीनलाई कास्की, तनहुँ र लमजुङ खटाइयो। जोशी लमजुङमा परे।
 
जोशीको सम्झनामा पोखरासम्म १४ दिन र त्यहाँबाट झन्डै चार दिन लगाएर लमजुङ पुगेका थिए। तलब तोकिएको थियो, मासिक पचास रुपियाँ।
 
जोशीलाई मान्छे भेट्दै, सोध्दै तथ्य संकलन गर्न सुरुदेखि नै ‘झ्याउ’ लाग्थ्यो। एक मनले भन्थ्यो, ‘छाडिदिउँ कि क्या हो?’
 
तुरुन्तै अर्को मनले भन्थ्यो, ‘राणाको कोर्रा खालास् नि।’
 
उनी सम्हालिन्थे।
 
‘कहिल्यै घर नछोडेको मान्छे,’ जोशीले सम्झिए, ‘छोराछोरीले कस्तो होला, के खाए होलान्, केही भएको त छैन नि। त्यो विकट गाउँबाट खबर÷चिठी लगिदिने पनि कोही थिएन। दिनभर गाउँ डुल्दा त केही पनि हुँदैनथ्यो। जब रात पर्छ यादले मुटु बटारिन्थ्यो।’
 
यसकारण उनी मन बहलाउन बेलुका–बेलुका रोदी जान थाले। भजन–मन्डली चहार्न थाले। ‘रोदीमा कसैको छोरी आउँदैछे भन्ने थाहा पाए भने गाउँ नै उल्टिन्थ्यो,’ उनले सम्झिए।
 
सहरमा हुर्केकाले उनलाई ती भाकाले सुरुमा त तानेका थिएनन्। जब उनले शब्दको ख्याल गर्न थाले तब उनलाई लाग्यो, ‘यो त गहिरो साहित्य पो हो त।’
 
यसपछि उनले मेलापँधेरा, बनजंगल, चौतारामा आराम गरिरहेकादेखि जताततै गीत मात्र सुन्न थाले।
 
दोस्रो विश्वयुद्धको समय थियो त्यो। गल्लावाल आउँथे र १५ देखि ४५ वर्षसम्मका पुरुषलाई बिभिन्न आश्वासन देखाएर बेलायती सेनामा भर्ती गराउन लैजान्थे। युद्धमा गएको सेनाको फर्किने टुंगो हुने कुरा पनि भएन।
 
अनि महिलाहरु गाउँथे, ‘गाई पाल्यो रेलिमाई बनको बाघलाई, छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई।’
 
उनलाई सबैभन्दा मन परेको गीतचाहिँ रहेछ, ‘किन रुन्छस् बनको न्याउली, तिमीभन्दा म छु नि बैरागी।’
 
र अर्को, ‘के खायो रेलिमाई, के लायो होला, मेरो माया रेलिमाई जुरेली चरीले।’
 
यो गीत पनि विश्वयुद्धका कारण छुट्टिएको आफ्नो परिवारलाई सम्झिएर आमा/श्रीमतीहरुले गाउने गरेको भाका थियो। उनी आफैंलाई प्रश्न गर्थे, ‘कहाँबाट निस्कन्छ यस्तो गीत? जहाँ पढेलेखेका मान्छे नै छैनन् र त्यो ठाउँका मान्छेको व्यथा विश्व राजनीतिसँग जोडिन्छ।’
 
त्यतिबेला उनले न्याउली भनेको के हो पनि बुझेका रहेनछन्। जब गाउँलेबाट न्याउली भन्ने थाहा पाए। उनी जंगलमा बसेर घन्टौंसम्म न्याउलीको ‘न्याउँन्याउँ’ सुन्न थाले। पहाडको खोँचमा न्याउलीको ‘विरही–धुन’ प्रतिध्वनी बनेर गुन्जिँदा उनी संसार भुल्थे। अनि अनुमान लगाउँथे, ‘पक्कै भालेपोथी छुट्टिए होलान्। र, आफ्नो प्रियसीको पर्खाइको आसमा गीत गाइरहेको होला।’
 
आखिर उनको व्यथा पनि त त्यस्तै थियो। जुन गाउँका छोरो पर्खिरहेकी आमा, लोग्ने कुरिरहेकी श्रीमती र दाजुभाइको फर्केर घर आउने आसमा रहेका दिदीबहिनीको व्यथासँग मिल्थ्यो।
 
उनले कतै पढेका थिए ‘मनमा दुःख परेको बेला निस्केको भावना नै मीठो संगीत हो।’
 
२६/२७ वर्षको उमेरमा गाउँ पुगेर उनले त्यो कुरा बुझे। न्याउलीको विरह गीत, चराको जीवन र मनमा विछोडको पीडा हुँदा–हुँदै पनि गीत गाएर हाँसीखुसी जीवन बाँचिरहेका गाउँलेलाई हेरे।
 
अनि सोचे, ‘जीवन भनेको यस्तै त रहेछ नि। त्यसोभए भोलिको के चिन्ता?’
 
अनि जागिरले खटाएको अनुसन्धान भर्ने नेपाली कागजमा मसी चोपेर लेख्ने बाँसको कलमले भाका टिप्न थाले। भाका जम्मा गर्दा उनी कता रोदी चल्दैछ, कता भजन चल्दैछ खोजीखोजी जान्थे। कोही थाकेर/निदाएर भजन, रोदी छोड्न आँट्यो भने चुरोट खुवाएर फकाउँथे। र, फेरि गाउन लगाउँथे। यसरी रात छर्लंगै बित्थ्यो र उज्यालो हुन्थ्यो।
 
यसरी थुप्रैखाले भाका जम्मा गर्दासम्म ती सबैलाई के नाउँ दिने उनलाई थाहा थिएन। ‘त्यतिबेलासम्म लोकभाका भन्ने शब्द नै चल्तीमा थिएन,’ उनले भने, ‘धेरैले झ्याउरे भन्थ्यौं। पछि मैले लोकभाका नाम दिएँ। र, प्रचलित शब्द पनि यही बन्यो।’
 
केही भाका जम्मा गरेर आफ्नै ठाउँ फिरे। त्यतिबेला गोरखापत्र र शारदा मासिक मात्र नेपालबाट नियमित छापिने पत्रिका थिए। साहित्यकार गोपालप्रसाद रिमाल त्यतिबेला शारदाको सम्पादक टोलीमा थिए। उनी भेट्न गए। रिमालसँग भेट भएन तर लोकभाका छापियो।
 
भाकासँगै तल सम्पादक नोटमा लेखिएको रहेछ, ‘सत्यमोहन जोशीले संकलन गरेको यो भाका हामीले यसकारण छापेका हौं, यस्ता भाकाले नेपाली साहित्यका लागि एकदमै महत्वपूर्ण अर्थ राख्छ–सम्पादक।’
 
पछि भेटमा रिमालले भनेछन्, ‘साह्रै राम्रो काम।’
 
‘म त छापिन्छ भन्नेमै विश्वस्त थिइन,’ उनले त्यतिबेलाको खुसी सम्झे, ‘सम्पादक नोट नै आइसकेपछि कम्ति खुसी भइन। मेरो लागि त त्यो साह्रै ठूलो उपलब्धि थियो।’
 
शारदामा आएको केही वर्षमा प्रगति द्वैमासिकमा पनि लोकभाका छापियो। रेडियो नेपालले पनि बोलायो। जोशीले भाका हालेर झन्डै एकघन्टा गीत गाएछन्। देवेन्द्र सत्यालले त उनले टिपेका भाका उद्धृत गर्दै एक विदेशी पत्रिकामा आर्टिकल नै लेखेछन्, ‘अ ल्यान्ड अफ फोल्क सङ।’
 
विस्तारै उनले टिपेको भाका काठमाडौंमा लोकप्रिय हुँदै गयो र उनी किताबकार दिनतिर लागे। नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०१२ सालमा पुस्तक छापियो ‘हाम्रो लोकसंस्कृति’ नाममा।
 
किताब छापिएकै वर्ष मदन पुरस्कार गुठीले पुरस्कार सुरु गर्दै आवेदन खुलायो। उनले पनि ‘दिइहरौं न त’ भनेर आवेदन भरे। नभन्दै पुरस्कार जित्यो। ‘सुरुमा त पत्यार नै लागेन,’ उनले सुनाए, ‘त्यत्रा–त्यत्रा साहित्यकारको भीडमा मैले के पाउँला र जस्तो लागेको थियो।’
 
यसरी जोशी विस्तारै साहित्यतिर ढल्किए। पहिलो कृतिले नै उनलाई धेरै कुरा दिलायो। संस्कृति र सम्पदाबारे चासो नभएको मान्छे २०१५ सालमा पुरातत्व तथा संस्कृति विभागको निर्देशक बने।
 
उनी सम्झिन्छन्, ‘मेरो नाम निर्देशकमा आएको थाहा पाएपछि म मन्त्रीलाई भेट् गएँ र भनेँ, मलाई त संस्कृति नै थाहा छैन, कसरी काम गर्न सकुँला?’
 
मन्त्रीले सोधेछन्, ‘मदन पुरस्कार जित्ने हाम्रो लोकसंस्कृति लेख्ने सत्यमोहन जोशी को हो?’
 
‘त्यो त मै हो सर।’
 
‘अनि, त्यस्तो राम्रो काम गर्नेले यो पनि सक्दिन भनेर हार मानेर हुन्छ त?,’ मन्त्रीले भने।
 
यति भनेपछि जोशीमा आत्मविश्वास पलायो र काम गर्न थाले। राजा महेन्द्रले ‘कू’ गरेपछि सरकार ढल्यो। उनको जागिर पनि खोसियो।
 
‘मेरो लागि त्यो दुई वर्ष अत्यन्तै महत्वपूर्ण रह्यो। त्योबीचमा मैले काठमाडौं उपत्यकाका साँस्कृतिक महत्वका सम्पदाको अध्ययन गरेँ।’
 
त्यति मात्र गरेनन्। नेपाली मुद्राको अध्ययन गरे। मुद्रासम्बन्धि पुस्तक पनि लेखे र फेरि मदन पुरस्कार पाए। उनको परिचय संस्कृतिविद् र इतिहासकारमा दरियो।
 
तीनचोटीसम्म मदन पुरस्कार पाएका एक मात्र व्यक्ति जोशी पहिलो मदन पुरस्कारपछिका सबै उपलब्धिको जस त्यही पहिलो कृतिलाई नै दिन्छन्। त्यो भन्दा बढी धन्यवाद त लमजुङलाई दिन्छन्, जसले उनलाई जीवन दर्शन दियो।
 
जुन दर्शन उनी अझै पनि भाका हालेर गाउँछन्:
 
‘गाई पाल्यो रेलिमाई बनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई।